सूचना र प्रविधिको विकास, विस्तार तथा प्रवर्धनका लागि मेरो उम्मेदवारी : कुँवर



काठमाडौँ। 

उद्योग वाणिज्य महासङ्घको यही चैत्र २९ गते  हुन गैरहेको निर्वाचनमा बस्तुगततर्फ केन्द्रीय सदस्य पद्मा नवराज कुँवरले उम्मेदवारी दिनुभएको छ । कम्प्युटर एसोसिएसन अफ (क्यान )महासङ्घको  निर्बमान अध्यक्ष समेत रहनुभएका कुँवरले १२३ वस्तुगत संघहरूको तर्फबाट उम्मेदवारी दिनु भएको हो ।

कुँवरले अहिलेको समय सूचना र प्रविधिको हो । सूचना प्रबिधिकोे विकास बिना देश विकास सम्भव नहुने भन्दै यसको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउन सरकारसँग सहकार्य गर्ने गरी क्यान महासङ्घको तर्फबाट उम्मेदवारी दिएको बताउनुभयो ।

सूचना तथा प्रविधि तथा यससँग सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रवर्द्धन गर्न नेपाल उद्योग वाणिज्य महासंघमा हाल भएको संरचनालाई अझै प्रभावकारी बनाउनका लागि सूचना गेट्बे निर्माण र संचालन गर्न उम्मेदवारी दिएको उहाँको भनाई छ  । नेपालको इन्टरनेट सेवा अत्यधिक करका कारण दक्षिण एशियामै महँगो छ । सूचना तथा सञ्चारलाई सबैको पहुँचमा पुर्‍याउन  र इन्टरनेट गुणस्तरीय र सस्ता बनाउन अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।

त्यस्तै उहाँले डिजिटल साक्षरता बढाउन, इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।त्यस्तै, स्टार्टअप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवर्धन मार्फत युवामा उद्यमशीलता विकास गर्न र सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिन आवश्यक रहेको कुँवरको भनाई छ ।

आयात ,निर्यातमा देखिएको समस्या ,खुल्ला सिमानाबाट उत्पन्न समस्या ,भ्याट ,करका समस्याका सन्दर्भमा महासङ्घको नेतृत्वलाई सजग गराई सरकारसँग समस्या समाधान गर्न पहल गर्ने साथै महासङ्घको नीति र विधानलाई समय अनुकूल पुनर्लेखन लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत् राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्धन गर्न संस्थाको तर्फबाट कार्यसमिति सदस्यमा कुँवरलाई अगाडि सारिएको क्यान महासङ्घले जनाएको छ ।

कुँवर क्यान महासंघका निवर्तमान अध्यक्ष, सूचना प्रविधिको अन्तर्राष्ट्रिय छाता सङ्गठन (एसियन ओसिएन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन ) का उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आइसिटी विकास उपसमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आइसिटी अप्टिमिस्ट क्लब अफ काठमाडौँका अध्यक्षसमेत हुन्।

क्यान महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति र विज्ञ, व्यवसायीहरू र संघसंस्थाहरूको छाता सङ्गठन हो । महासङ्घले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरूको हक हितका लागि काम गर्दै आएको, सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै सूचना प्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग दिँदै पनि आएको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्