बालबालिका भित्रको क्षमता हुर्काउन वडाले मलजल गर्नुपर्नेमा जोड

ललितपुर–१६ द्वारा बालबालिकाको लागि उद्घोषण तालिम



ललितपुर।

बालबालिकालाई लक्षित गरी ललितपुर महानगरपालिका– १६ वडा बालअधिकार समितिले आईतबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम सञ्चालन गरेको छ।

स्थानीय हःबहालस्थित रत्नाकर महाविहारको सामुदायिक भवनमा सञ्चालित सो तालिमको एक कार्यक्रमकाबीच महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले उद्घाटन गर्नुभयो। सो अवसरमा वडाअध्यक्ष शाक्यले बोल्ने बानी, बोल्ने तरिका, त्यस सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान व्यक्तित्व विकासको अनिवार्य तत्व रहेको बताउनुभयो।

विद्यालयको वार्षिक परीक्षा सकिएर बिदामा बसेका बालबालिका रचनात्मक गतिविधिमा सहभागी गराउन तालिमको आयोजना गरेको वडाअध्यक्ष शाक्यले बताउनुभयो।

समितिका संयोजक एवं वडाको महिला सदस्य बबिता श्रेष्ठले बालबालिकाको बाल विकासको अधिकार, सहभागिताको अधिकारलाई केन्द्रबिन्दुमा राखेर बालबालिका सम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

‘त्यस्ता कार्यक्रमको प्रभाव बालबालिकाको कलिलो मनमस्तिष्कमा केही हदसम्म पर्न सक्यो यसले बालअधिकारको व्यावहारिक रुपमा सुनिश्चित गर्न टेवा पु¥याउने छ ।’ महानगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका समितिका संयोजक श्रेष्ठले भन्नुभयो। १२ देखि १६ वर्षका २० जनालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेकोमा सहभागीको संख्या ३५ जनाको हाराहारीमा हुनुले पनि बालबालिका लक्षित कार्यक्रमको अझ बढी आवश्यकता र महत्वको बोध गराएको संयोजक श्रेष्ठको भनाई रहेको छ ।

सो अवसरमा रत्नाकर महाविहार संरक्षण समितिका सदस्य कर्ण बज्राचार्यले बालबालिको अन्तरनिहित प्रतिभा तिर्खान यस किसिमको कार्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनले बालबालिका स्वभावले नै धेरै सिक्ने क्षमता लिएर आउने भएकोले स्थानीय तहले बालमैत्री परिवेशमा ती क्षमताका भरपुर सदुपयोग गर्ने नीति, कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। बालबालिकाको क्षमता बीजका रुपमा रहने भएको त्यसलाई उबर्रा शक्ति भएको माटोमा रोपेर उचित तरिकाले मलजल गर्न जिम्मेवारी स्थानीय तह र वडाको रहेको पनि महर्जनको धारणा रहेको छ । सातदिनसम्म सञ्चालन हुन सो तालिमको मुख्य प्रशिक्षक सरिता बज्राचार्य र सहयोगीको रुपमा प्रेरणा बज्राचार्य रहने छ।

प्रतिक्रिया दिनुहोस्