विद्यार्थीको साहित्य लेखनमा रुचि बढाउन बालकथा सङ्ग्रह सार्वजनिक



काठमाडौँ।

विद्यालय तहका बालबालिकाहरुको प्रतिभाको पहिचान गरी उनीहरुको सिर्जनशिलता, भाषिक सीप र दक्षतालाई बाहिर निकाल्न इम्पेरियल वल्र्ड स्कुलले महात्वपूर्ण कार्यको थालनी गरेको छ । स्कुलले नवीन पाइला र इम्याजिनेटिभ वल्र्ड बालकथा सङ्ग्रह प्रकाशन गरेर बालबालिकाको क्षेत्रमा नवीन आयमको थालनी गरेको हो ।

शनिबार एक कार्यक्रमकावीच सार्वजनिक गरिएका कृतिहरु नवीन पाइला बालकथा सङ्ग्रह नेपालीमा र इम्याजिनेटिभ वल्र्ड अंग्रजी भाषामा रहेका छन् । प्रमुख अतिथि बाल साहित्यकार यशु श्रेष्ठ, विद्यालयका अध्यक्ष कुमार कार्की, प्रिन्सिपल जुनिता शाहीले संयुक्त रुपमा विमोचन गरिएका थिए ।

बालकथा सङ्ग्रहमा कक्षा तीनदेखि कक्षा दशसम्मका बालबालिकाहरुका कथाहरु समेटिएका छन् । उनीहरुका आफ्ना नीजि अनुभूतिहरु रहेका कथाहरुमा बालबालिकाका कल्पना, साहस र सफलताका कथाहरु समेटिएका छन् ।

साहित्यकार यशु श्रेष्ठले विद्यालय वगँैचा र बालबालिका त्यसका फूल भएको बताउँदै नवीन पाइला र इम्याजिनेटिभ वल्र्ड बालकथा सङ्ग्रहले बालबालिकालाई साहित्यमा रुचि बढाउन सहयोग पुग्ने बताए । श्रेष्ठले बालसाहित्य क्षेत्र उपेक्षित क्षेत्र रहेकोले हरेक विद्यालयले साहित्य लेखनको जग बसाल्न आवश्यक रहेको धारणा राखे ।

विद्यालयका अध्यक्ष कुमार कार्कीले विद्यालयले विद्यार्थीलाई कक्षा कोठामा मात्रै पढाएर नपुग्ने र वास्तिविक जीवनमा नै पुगेर जस्ताको तस्तै उतार्न खोजिएको बताए । साहित्य बालबालिकाहरुका लागि प्रेरणाको स्रोत हुने बताउँदै हरेक वर्ष दुईवटा पुस्तक विमोचन गर्ने तयारी गरेको जानकारी दिए ।

प्रिन्सिपल जुनिता शाही कार्कीले सहित्यले बालबालिकाको सिकाईमा ठुलो प्रभाव पार्ने भएपनि यसले धेरै महत्व नपाएको बताइन । इम्पेरीयल वल्र्ड स्कुलले सार्वजनिक गरेको दुई बालकथा संग्रहले विद्यार्थीको क्षमाता विकासमा ठुलो भूमिका खेल्ने भनाई राखिन ।

प्रतिक्रिया दिनुहोस्