असफलताले सफलता दिलाएका उत्कृष्ट कृषक



सिन्धुपाल्चोक। 

सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर ४ मा कृषक देउकुमारी शाक्यले ५ रोपनी जमिनमा २६ वर्ष देखि ब्यवसायीक रुपमा किवी खेती गरिरहनु भएको छ । २०५२ सालमा तरकारी खेती शुरु गरेर बजारीकरण गर्न नसके पछि हार मानेर व्यवसाय छाड्नु भएकी देउकुमारी शाक्यले यो वर्ष ७ सय केजी भन्दा धेरै किवी अनलाइन मार्फत मार्केटिङ गरेर विक्री गर्नु भएको थियो । निरन्तर लागिरहँदा सफलता प्राप्त हुने अनुभव देउकुमारीले सुनाउनु भयो ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लाकै कृषक श्रीकृष्ण धिमाल कोभिड १९ अघि वैदेशिक रोजगारमा जानु भएको थियो । क्यानडा पठाउने दलालले अन्यत्र पठाएर अलपत्र पारे पछि फर्किएर कृषि खेती शुरु गर्नु भएको थियो । १८ वटा  भैँसी, ६ वटा  गाई र १४ वटा टनेल मार्फत खेती गरिरहनु भएका धिमालले डेरी समेत संचालन गरिरहनु भएको छ ।

सिन्धु मल्टि पर्पाेज कम्पनी प्रा.लीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची १ मा ८० रोपनी जमिन खरिद गरी खुल्ला जमिनमा टनेल सहित तरकारी खेती गरेको, फलफूल खेती अम्बा, एभोकाडो, कागती, अलैँची, बाख्रा तथा स्थानीय कुखुरा, होमस्टे सञ्चालन र जैविक विविधता संरक्षण सहित एग्रो टुरिजम शुरु गरेको छ ।

२५ जना शेयर सदस्य रहेको उक्त कम्पनीमा ५ वटा प्रदेश समेटिएको सञ्चालक झलकप्रसाद सुवेदीले बताउनु भयो । कृषि र पशुपालनमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उद्देश्यका साथ फार्म सञ्चालन गरिरहेको उहाँले बताउनु भयो ।

कृषक रमेश आचार्यले २१ वटा भैँसी, १० वटा गाई पालन गरी कृषि फार्म सञ्चालन गर्नु भएको छ । सोही फार्ममा पालेका पशुहरुको दूध मार्फत डेरी सञ्चालन गर्नु भएको छ । १७ रोपनी जमिनमा तरकारी र घाँस खेती गरी रोजगारी सृजना गर्नु भएको छ । कृषक देवकृष्ण मानन्धरले उच्च प्रविधि युक्त संरक्षित संरचना निर्माण गरी विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । ३ रोपनी जमिनमा मानन्धरले तरकारीका साथै हाँस पालन गरिरहनु भएको छ । कृषक रवीन्द्र बञ्जाराले ८ रोपनी जमिनमा २५ वटा बाँस र १४ वटा फलामको टनेल मार्फत विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी प्राङ्गारीक तवरबाट उत्पादन गरिरहनु भएको छ ।

दुर्घटना हुने वित्तिक्कै चालकलाई स्टेरिङमै राखेर जलाउन थाले पछि यातायात क्षेत्रको व्यवसाय असुरक्षित देखेर कृषि व्यवसायमा सहभागी भएका पनौती ७ का देवकृष्ण मानन्धर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनु भएको छ । कृषि ज्ञान केन्द्र काभ्रेले सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका तीन/तीन जना कृषकहरूलाई नगद १५ हजार सहित सम्मान गरेको हो ।

सिन्धुपाल्चोकबाट १३ वटा र काभ्रेबाट ४४ वटा गरी ५७ वटा कृषकहरू आवेदन परेका थिए । हरेक आवेदनका आधारमा जिल्ला स्तरीय पुरस्कार छनौट समिति फार्ममा पुगेको थियो । मापदण्डमा तोकिए अनुसार प्राप्ताङ्कका आधारमा उत्कृष्ट ६ जना सम्मानित भएका हुन् । ‘जिल्लाबाट छनौट भएका उत्कृष्ट कृषकहरू प्रदेशमा प्रतिस्पर्धाका लागि योग्य छन्’–कृषि ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले भन्नुभयो– ‘जिल्ला र प्रदेशबाट छनौट भएका उत्कृष्ट कृषकहरूलाई संघ सरकारले समेत नगद ५ लाख सहित सम्मान गर्नेछ ।’ उत्कृष्ट कृषक सम्मान कार्यक्रमले कृषकहरूलाई हौसला, सम्मान र कृषि पेसाको समेत महत्त्व बढाएको ज्ञान केन्द्रका दवाडीले बताउनु भयो । कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले कृषिमा दिने अनुदान उत्पादनका आधारमा हुनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्