हेटौंडा ।
हेटौंडामा भएको प्रतियोगिताबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन वागमती प्रदेशबाट आईटीएफ तेक्वान्दोका २५ खेलाडी छनोट भएका छन् ।
वागमती प्रदेशको राजधानी हेटौंडामा भएको छनोटमा सहभागी २ सय ५० खेलाडीबाट बिभिन्न तौल समूहमा २५ खेलाडी छनोटमा परेको मकवानपुर आईटीएफ तेक्वान्दो संघ सचिव प्रकाश शाहीले बताए । असोज २८ गतेबाट पोखरामा हुने प्रतियोगितामा सहभागी बन्न प्रदेशको रसुवा र दोलखाबाहेक १० जिल्लाका खेलाडीको छनोट हेटौंडामा भदौ २२ र २३ गते सञ्चालन भएको थियो ।
छनोटमा परेका खेलाडीलाई बधाईसहित मेडल लगाइदिँदै हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले खेलकुद विकासका लागि उपमहानगरपालिकाले लगानी गर्ने बताइन् । नगर प्रमुख लामाले खेलाडीले देश र नगरलाई चिनाउने हुँदा उपमहानगरपालिका खेलकुदलाई महत्वका साथ अघि बढाउने तयारीमा रहेको बताइन् ।
उनले खेलकुदलाई अघि बढाउन पूर्वाधार निर्माण क्षेत्रमा खर्च गरिरहेको बताइन् । उनले चालु आर्थिक वर्ष २०७९-०८० मा खेलकुद विकास र पूर्वाधार निर्माणका लागि ६ करोड २९ लाख बजेट छुट्याएर काम थालिएको जानकारी दिइन् ।
आईटीएफ तेक्वान्दो संघ वागमती प्रदेश अध्यक्ष उमेश राजथलाको सभाध्यक्षतामा भएको छनोट प्रतियोगिताको समापनमा वागमती प्रदेश खेलकुद विकास समिति सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गीलगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।











प्रतिक्रिया