फोहोर हट्यो अन्योल हटेन



लामो समयको अवरोधपछि बिहीबारदेखि उपत्यकाको फोहोर उठ्न थालेको छ । नुवाकोट, काठमाडौं र धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका, धुनिबेसी र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिबीच बुधबार तीनबुँदे सहमति भएपछि फोहोर उठ्न थालेको हो ।

फोहोर उठ्ने–नउठ्ने सन्दर्भले उपत्यकावासीलाई लामो समयदेखि अन्योलमा पारेकाले फोहोर उठ्नथालेको खबरले पनि तत्काल ठूलो प्रसन्नता चाहिं दिनसकेको छैन । पुनः कुन दिनबाट फोहोर विसर्जनमा अवरोध आउँछ भन्ने अन्योल हटेको छैन ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोरलाई व्यवस्थित रुपमा विसर्जन गर्नुपर्ने, काठमाडौं महानगरपालिकाले स्थानीयसँंग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने र दैनिक औषधि हालेर मात्र फोहोर बिसर्जन गर्नुपर्ने सहमति पछि बिहीबार बिहान ११ बजेबाट फोहोर खसाल्न शुरु भएको छ । साउन महिनाभर मुिस्कलले एक साता मात्र आंशिक मात्रामा बाहेक अन्य दिन फोहोर उठ्न सकेको छैन ।

फोहोर नउठेपछि आक्रोशित भएका कामपाका मेयर वालेन्द्र साहले सरकार आबद्ध राजनीतिक दलको कारण फोहोर उठ्न नसकेको आरोप लगाएका थिए । त्यस लगत्तै सिडियो र स्थानीय तहका अधिकारीको प्रतिबद्धतापछि फोहोर उठ्न शुरु गरेको हो ।

बिहान सामान्य अवरोध भएको थियो । त्यसपछि लगातार फोहोर उठ्न थालेको कामपाको भनाइ छ । बिहीबार करिब ३ सय ट्रक फोहोर बिसर्जन भएको छ । केही निजी ट्रिपर व्यवसायीले महानगरको फोहोर व्यवस्थापन गर्न ४८ वटा ट्रिपर सहयोग गरेका थिए ।

व्यवसायी, कामपा र निजीको ट्रिपरले फोहोर उठाएपछि टेकुस्थित ट्रान्सफर स्टेशन वरपरका जनता मात्र होइन, उपत्यकाका सबै वासिन्दा खुसी भएका छन् । महानगरले आफ्नो र निजी व्यवसायी समेतको गरी करिब ६० सवारी साधनबाट फोहोर व्यवस्थापन गर्दैछ । उपत्यकाका १८ स्थानीय तहको फोहोर उठ्न नसक्दा काठमाडौं महानगरलाई मात्र दोष आउने गरेका छन् । अन्य स्थानीय तहलाई कुनै मतलब नभएको जस्तो देखिएको छ ।

फोहोर उठेन भने महानगरको मात्र चर्को आलोचना हुनेगर्दछ । यो हुनु विडम्बना हो । यसअघि सरकारले गठन गरेका फोहोरमैला प्राविधिक केन्द्र खारेज भएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा कामपाको मात्रै टाउको दुखाइ भएको छ । कामपा बाहेक राजधानी र आसपासका गरी १७ स्थानीय तहको फोहोर ल्याण्डफिल साइटमा फ्याक्ने गरिएको छ । तर फोहोरमा अवरोध आए कामपाले मात्र गाली खाने गरेको छ । ती स्थानीय निकायलाई कुनै चासो र मतलब छैन ।

शहरी विकास तथा भवन निर्माण विभागले पनि फोहोर व्यवथापन गर्ने जिम्मा कामपाको मात्र भएको बताउदै आएको छ । कामपाले फोहोर व्यवस्थापन गर्न स्वतन्त्र निकाय बनाउन माग गरेको छ । सरकारले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको छ ।

यस विषयमा तत्काल निर्णय गरी स्वायत्त निकाय बनाउँदा सबै स्थानीय निकायमा व्यवस्थित रुपमा फोहोर विसर्जन गर्ने बाटो खुल्थ्यो । यस विषयमा सबै सरोकारवाला निकायको ध्यान जानु जरुरी छ । काठमाडौं महानगरपालिका सधैं फोहोर व्यवस्थापनमा मात्र केन्द्रित हुँदा स्थानीय जनताका अन्य आधारभूत सबालहरु अलपत्र पर्नेगरेका छन् । यो राम्रो होइन ।

प्रतिक्रिया दिनुहोस्