वर्षाले किसान खुसी, रोपाइँ गर्ने चटारो



बैतडी ।

केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका थिए ।

रोपाइँका लागि पनि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान मानसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यसअघि वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, रोपाइँ पनि गरियो, वर्षे बालीलाई पनि राहत भएको छ । यसअघि असार पहिलो सातासम्म वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए ।

वर्षा भएसँगै यहाँका किसानलाई हाल रोपाइँ गर्न चटारो परेको छ । हालसम्म जिल्लामा ७५ प्रतिशत बढी रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रहरूमा पनि धमाधम भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ ।

बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न शुरू गरिएकोमा असार मसान्तसम्म सम्पन्न हुने जनाइएको छ । जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेंसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकीे छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्