धुलिखेल अस्पताललाई पहिलो पटक बंगाराको दुबैजोर्नी प्रत्यारोपणमा सफलता, युवतीको मुहारै फेरियो



धुलिखेल ।

नेपालमा धेरै मानिसमा लड्दा च्यापु ठोकिएर हुने मुखको गम्भीर समस्याको पहिलो पटक धुलिखेल अस्पतालमा शल्यक्रिया सफल भएको छ । मुख खोल्न, चपाउन, बोल्नका लागि नभैनहुने कानको नजिकै (कन्चट) मा जोडिएको दुबैतर्फको जोर्नीमा गम्भिर क्षति पुगेकी एक २२ बर्षिय युवतीको (टेम्पोरोमन्डिबुलर जोर्नी प्रतिस्थापन) शल्यक्रियामा धुलिखेल अस्पताललाई सफलता मिलेको छ । झण्डै ८ घण्टा लगाएर गरिएको शल्यक्रियापछि युवतीको मुहारै फेरियो ।

काठमाडौ कपन निवासी २२ बर्षकी ज्योत्सना अर्याल साढे २ बर्षको उमेरमा बाग्लुङमा लड्दा च्यापुको हड्डीमा चोट लागेको थियो । उनको कन्चटमा रहेको दुबै भागको जोर्नीमा असर परेको र नाक र कानबाट रगत बगेको अवस्थामा बाग्लुङमा उपचार सम्भव नभएपछि पोखरा रिफर गरियो । त्यहाँ ल्याई परिक्षण गर्दा टाउँकोमा भित्र रगत नजमेको र ठूलो चोट नलागेको बताएपछि छोरीको समस्याका बारेमा ढिलो जानकारी भएको ज्योत्सनाका बुबा हेमन्द्र अर्याल बताउँनुहुन्छ । हेमन्द्र भन्नुहुन्छ-बाल्य अवस्थाको पिडादायि घटनाको समयमै पहिचान हुन नसक्दा विस्तारै विस्तारै छोरीको मुख खुल्नै गाह्रो हुनुका साथै च्यापुनै सानो हुँदै गयो । १२ बर्षको उमेरमा बीएण्डबी अस्पतालमा पुन परिक्षण गर्दा उनको मुख खोल्दा चल्नुपर्ने जोर्नी कन्चटमा रगत जमेर हड्डी बनेर जोर्नी नै पुरिएको पत्ता लाग्यो । चिकित्सकको सल्लाह अनुसार छोरीको मुख खोल्न सहज बनाउनका लागि बीएण्डबी अस्पतालमा शल्यक्रिया गरियो ।

शल्यक्रिया गर्नु अघि अवस्था

केही समय मुख खोल्न अलि सहज भएपनि पुनः पहिलाकै अवस्थामा कन्चटभित्रको जोर्नीमा हड्डी जोडिएछ । पहिलो शल्यक्रियामा सफलता मिलेन छोरीको उमेर जति जति बढ्दै गयो झन झन समस्या थपियो । छोरीको उपचारको खोजी गर्ने क्रममा गोरखपुर सम्म पुगियो त्यहाँ भरपर्दो लागेन । खोजिकै क्रममा धुलिखेल अस्पतालको बारेमा पत्रपत्रिकामा पढेको थिए । त्यसैले धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (कुम्स ) को ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी विभागका प्रमुख प्रा.डा.चन्दन उपाध्यायसँगको सम्पर्कमा आए । उहाँसँगको परामर्शपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौ । ज्योत्सना भन्नुहुन्छ—म अहिले एकदमै खुशी छु । पहिला मुख खोल्न धेरै गाह्रो थियो अब मुख खोल्न सक्छु । मेरो घाउँ निको भएपछि म सबैभन्दा पहिला मःमः सिंगै खान्छु । पहिला मैले किमा निकालेर सानो सानो बनाएर चुसेर खानुपथ्र्यो । यस्तो समस्या कसैले पनि नलुकाउँनुस् खुलेर आउँनुस् धुलिखेल अस्पतालमा निःशुल्क मेटल उपलब्ध गराईदिनुहुन्छ । अस्पताल बसाई र शल्यक्रियाको शुल्क मात्र तिरे पुग्छ । यो उपचार २० देखि २५ लाख पर्ने रहेछ । मलाई पनि अस्पतालले मेटल निःशुल्क उपलब्ध गराएकै कारण उपचार सकिँदा १ लाखको हाराहारीमा मात्र खर्च भयो ।

 

डा.उपाध्यायका अनुसार दुबैपट्टीको ज्वाईन्ट फेरेको धुलिखेल अस्पतालको पहिलो बिरामी ज्योत्सना नै हुन् । यो हाम्रो लागि पनि नयाँ हो । यस्तो समस्या बाल्य अवस्थामा बालबालिका लड्दा अनुहार तथा च्यापुमा चोट लागेका कारण बढी हुन्छ । बाल्यकालमा लागेको चोटको असर उमेर बढ्दै जटिल बन्दै जान्छ । उमेर बढेसँगै कतिपयलाई मुख खोल्नै नसक्ने अवस्था आउँछ । यसको प्रमुख कारण उमेरसँगै शरिर बढेपनि चोट लागेको च्यापुको हड्डी नबढ्दा अनुहार समेत एकातर्फ बांगो हुँदै जान्छ । ज्याईनटमा जमेको रगत हड्डीसँग जोडिएर कडा हड्डी नै बन्दा यस्तो समस्या आउँछ । यो कुनै जन्मजातको समस्या, पूर्वजन्मको फल भन्ने जस्ता भ्रममा नपरी समयमै समस्याको पहिचान गरे उपचार सम्भव छ । सानै उमेरमा रुखबाट लड्दा, हड्डी खिईदा वा लड्दा जमेको रगत हड्डीमा परिणत हुन्छ । त्यसपछि मुख खुल्दैन, खान सक्दैन, मुखको संक्रमण, अनुहार विग्रने, दाँतको जटिल समस्या चेतना र पैसाको कमीले गर्दा बढी हुन्छ ।

शल्यक्रिया पछि अवस्था

डा.उपाध्याय भन्नुहुन्छ—यो प्रविधि अत्यन्तै महगो हुनुका साथै नेपालमा सम्भव नभएका कारण बिरामी र अस्पतालको मात्र प्रयासले उपचार सम्भव छैन । तर धुलिखेल अस्पतालले ज्योत्सनाको समस्याका बारेमा कोभिड १९ शुरु हुनु पहिलानै अष्ट्रेलियाको मेलबोर्नमा उनको फोटो खिचेर पठायौ । कोभिडले गर्दा अष्ट्रेलियाबाट उक्त प्रविधि सहितको मेटल लिएर अष्ट्रेलियाबाट धुलिखेल अस्पतालमा आउँने भन्नुभएका मेडिकल टीममा ट्रेवर मोइलको पहलमा डा. एन्ड्रयु हेगी, डा .रिकी कुमार आउँन सक्नुभएन । उहाँहरु आउन नसकेपनि अष्ट्रेलियाबाट नेपाल आउँने व्यक्तिका हातमा मेटल पठाएर थ्रीडीको फोटो प्रिन्ट गरि आदान प्रदान गरियो ।

पटक पटक भिडियो बैठकमा बस्यौ । त्यहि फोटोको आधारमा अष्ट्रेलियाको टीमले मेटल बनायो । ३ बर्ष अघि तयार पारेको मेटल यहि बैशाख २० गते धुलिखेल अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण गर्न सफलता मिल्यो । ज्योत्सनाको बंगाराबाट कन्चटमा जोडिएको जोर्नीले मुख खोल्ने, दाँतले चपाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । उनको च्यापुको हड्डी समेतमा समस्या आएकाले च्यापुमा पनि मेटल राखेर एकैपटक तीनवटा शल्यक्रिया गरियो । यो कार्य गर्नलाई पटक पटक भिडियो कल गरि प्राविधिक ज्ञान र आत्मबल बढाउँनुका साथै निःशुल्क रुपमा मेटल सहयोग गर्ने अष्टेलियाको टीमलाई विशेष धन्यवाद दिन चाहन्छु । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई च्यारीटी मार्फत पनि निःशुल्क उपचार गर्छौ बिरामीले पैसा नभएर पिडा भोगेर नबस्नुस, डा. उपाध्याय भन्नुहुन्छ ।

 

धुलिखेल अस्पतालमा फेसियल फोटोग्राफहरू (पूर्व अपरेटिभ) मेशिन हुनुले ज्योत्सनाको समस्या जस्ताको तस्तै उतारेर ठूलो साईजमा थ्रीडी मार्फत बनाएर पठाएकै कारण यो सफलता मिलेको हो । यो समस्या भएका बिरामीको अनुहार बांगो हुने, बोल्न गाह्रो हुने, साथीसंगीसँग खुल्न नसक्ने लगायतका समस्या हुन्छ । यो प्रविधिबाट गरिने बंगाराको जोर्नी प्रत्यारोपण विधिलाई फ्युज्ड जोइन्ट वा कडा जोड भनिन्छ डा. उपाध्याय भन्नुहुन्छ ।  उपचार महगो हुनुका साथै बिरामीले ६ महिना सम्म नियमित चिकित्सकको निगरानीमा फलोअप गराउनुका साथै पछि पनि परिक्षण गराईरहनुपर्छ । कहिलेकही शरिरले मेटल नलिने, संक्रमण हुने जस्ता समस्या आउने सक्ने हुनाले लामो समय बिरामी चिकित्सकको सम्पर्क बाहिर बस्न नहुने पनि उहाँ बताउँनुहुन्छ ।
तस्वीरहरु: धुलिखेल अस्पताल

प्रतिक्रिया दिनुहोस्