क्षेत्रीय विमानस्थल र फाष्ट ट्रयाक निर्माणमा सघाउन एडीबीका महानिर्देशकलाई मन्त्री आलेको आग्रह



विमल विष्ट, काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग आज एसियाली विकास बैंक (एडीबी)का महानिर्देशक केनिची योकोयामाले आज मन्त्रालयमा भेटवार्ता गर्नु भएको छ । भेटवार्ताका क्रममा मन्त्री आलेले महानिर्देशक योकोयामासँग धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रु २५ अर्ब तथा उक्त विमानस्थलको जग्गा अधिग्रहण (मुअव्जा वितरणका) लागि रु १५ अर्ब सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

धनगढी स्थित गेटा विमानस्थल स्तरोन्नति सहित क्षेत्रीय स्तरको विमानस्थल निर्माणका लागि मन्त्री आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट रु एक अर्ब बजेट विनियोजन गरी सक्नु भएको छ ।

भेटकै क्रममा मन्त्री आलेले कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ हुँदै उरै ताक्लाकोट भन्ज्याङ मानसरोवर सम्म जाने उत्तर दक्षिण जोड्ने सडक निर्माणका लागि आवश्यक पर्ने रु २५ अर्ब बजेट सहयोगका लागि महानिर्देशक योकोयामासँग आग्रह गर्नुभयो ।

उक्त सडक कैलालीको धनगढीबाट जम्मा ३ सय ४० किलोमिटर रहेको बताइएको छ । केही दिन पहिले मात्रै मन्त्री आलेकै पहलमा एडीबीका निर्देशक अर्नावट सहितको टोलीले उक्त सडकको हवाई अनुगमन समेत गरेको थियो ।

सुदूरपश्चिम क्षेत्रमा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका र यहाँ पर्यटन प्रबर्द्धनको भरपुर सम्भावना रहेकाले सो क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचार प्रसार अनि ती क्षेत्रलाई देश विदेशमा चिनाउनका लागि भए पनि पनि त्यहाँको विकास गर्न आवश्यक रहेको मन्त्री आलेको जिकिर थियो ।

मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, बिस्तार सहित सडक निर्माणका लागि सहयोग गर्न पटक पटक एडीबीका कर्मचारीसँग आग्रह गर्नुभएपछि एडीबीका महानिर्देशक सहितका कर्मचारीहरू सहयोग गर्न सकारात्मक भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

मन्त्री आलेसँगको भेटका क्रममा महानिर्देशक योकोयामाले सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, बिस्तार सहित सडक निर्माण तथा नयाँ परियोजना निर्माणका लागि एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र एडीबीबीच विगतदेखि विकास निर्माणका कामका सहकार्य भई कतिपय काम सम्पन्न भएका र फेरीपनि विकास निर्माणका नयाँ काममा एडीबीले सहयोग गर्ने महानिर्देशक योकोयामाले आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एडिबीको सहयोगमा नेपालमा थुप्रै विकास निर्माणका कामहरू सम्पन्न भएका छन्, फेरी पनि हामी पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा थप नयाँ विकास निर्माणका काममा सहयोग गर्ने छौँ ।’ उक्त भेटका क्रममा भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एडिबीको सहयोगमा भएका विकासका कामका विषयमा छलफल समेत भएको थियो ।

यसै गरी महानिर्देशक योकोयामाले एडिबीको सहयोगमा निर्माण सम्पन्न भएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कोभिड–१९ का बाबजुद पनि सम्पन्न भएकाले चाँडो अन्तर्राष्ट्रिय उडान–अवतरणका शुभकामना समेत दिनु भएको थियो ।

उक्त भेटका क्रममा मन्त्री आलेले एसियाली विकास बैंङ्कको सहयोगमा नेपालमा थुप्रै विकास निर्माणका काम भएका र भविष्यमा पनि नयाँ परियोजना निर्माणका लागि आवश्यक पर्ने सहयोगको अपेक्षा राख्नु भएको थियो । यसै गरी मन्त्री आलेले नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा एडिबीले थप नयाँ परियोजनामा सहयोग गर्नका लागि आग्रह गर्नुभएको थियो ।

मन्त्री आलेले भन्नुभयो, ‘संस्कृति, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा एडिबीले थप सहयोग सहितको सहकार्यका लागि हाम्रो आग्रह छ, सहयोग हुने छ भन्ने अपेक्षा लिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्