तातोपानी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा



न्युज अफ नेपाल, जुम्ला ।

तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले एक महिना अघिदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । ग्रामीण भेगबाट बिरामीलाई स्वास्थ्य संस्था तथा सदरमुकामका अस्पतालसम्म ल्याउन सहज होस भन्ने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्स सेवा सञ्चालनको एक महिनामा २० जनाभन्दा बढीले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनले भने, ‘पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरीखेला क्षेत्र हो ।

एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको छ । सडक पहुँच भए पनि निजी गाडीले बिरामी बोक्दा महंगो खर्च तिर्न बाध्य थिए । कति पैसानै नपाएर उपचारबाट बन्चित हुन्थे । तर, पालिकाले आफ्नै एम्बुलेन्स सेवा सुरु गरेपछि भेरीखोला क्षेत्रसँगै तातोपानीबासीलाई राहत भएको छ ।’ पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबावत आठ सय रुपैयाँ लिने गरेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाले बताए ।

विपन्न नागरिक, गर्भवती महिला, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । तर, कस्ता व्यक्तिलाई पूर्ण छुट दिने रु, कस्तालाई आंशिक छुट दिने भन्नेबारे कार्यविधि बन्न बाँकी छ । कार्यविधि बनेर पारित भएपश्चात विपन्न नागरिक, गर्भवती, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा पाउने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्