युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता, मोदीलाई देउवाले दिए धन्यवाद



न्युज अफ नेपाल, काठमाडौं ।

युद्धग्रस्त युक्रेनबाट उद्धार गरिएका चार जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरू आज (शनिबार) दिउँसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन  ।

भारत सरकारले आफ्ना नागरिकसँगै ४ जना नेपाली नागरिकलाई युक्रेनबाट उद्धार गरेको हो । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई ‘अपरेशन गंगा’ नाम दिएर उद्धार गरिरहेको छ । भारतीय नागरिकसँगै चार जना नेपालीको पनि उद्धार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको उद्धार गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् । ‘युक्रेनबाट भारत हुँदै चार जना नेपाली भर्खरै नेपाल आएका छन्’, देउवाले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू र भारत सरकार ।’

प्रतिक्रिया दिनुहोस्