एमसीसी पारित नभएको भए देश अस्थिर हुने थियो : प्रचण्ड



न्युज अफ नेपाल, सुर्खेत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारि नभएको भए देश अस्थिर अवस्था जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् ।

एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए ।

एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यसको रहेको केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाई थियो । ‘हामी सबै एमसीसी पास गर्ने पक्षमा थियौं,’ उनले भने, ‘त्यो सम्झौतामा भएको केही बुँदा सच्याउनु पर्छ भन्ने हाम्रो भनाई हो । अहिले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सच्याइएको छ ।’

त्यस्तै, पार्टीको केन्द्रीय महाधिवेशन भएको लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेको अवस्थामा प्रचण्डले एकल नेतृत्व गर्ने कार्यकर्तालाई संकेत दिएका छन् । करिब एक घण्टा एमसीसीका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका प्रचण्डले विगतमा क्रान्तिकारी साथीहरूको कुरा सुन्दा आफू र माओवादी पार्टीले नै क्षति पुगेका कारणले अहिलेका क्रान्तिकारी साथीहरूको पनि कुरा नसुन्ने उनले बताए ।

‘२०६४ सालको निर्वाचनपछि माओवादी ठुलो पार्टी बन्यो । मेरो नेतृत्वमा सरकार बन्यो । प्रधानसेनापति रुमाङ्गत कटुवाल प्रधान सेनापति थिए । रक्षामन्त्री रामबहादुर थापा थिए । बाबुराम र रामबहादुर थापाले दायाँबायाँ बसेर प्रधान सेनापतिलाई कारबाही गर भनेर दबाब दिए । उनीहरू त्यो बेला क्रान्तिकारी जस्ता देखिए । म के क्रान्तिकारी हैन भनेर हस्ताक्षर गरेँ ।’ उनले भने,‘उनीहरूको भन्दा लागेर मैले हस्ताक्षर गरेर पाँच वर्षका नै चलाउन पाइने सरकार छाड्नु पर्‍यो । माओवादी पार्टी छिन्नभिन्न भयो । त्यो बेलाका क्रान्तिकारीहरूको हविगत देख्नु नै भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्