प्याब्सनको महाधिवेशन चैत ९ गतेदेखि हुने



न्युज अफ नेपाल, काठमाडौं । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन  (प्याब्सन)को १५ औं राष्ट्रिय महाधिवेशन आउने चैत ९ र १० गते हुने भएको छ । यस संस्थाले विहिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार महाविधेसन काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

अर्गनाइजेसनका अध्यक्ष टीकाराम पुरीका अनुसार सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना गर्न लागेको हो ।  महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्याब्सनले सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा निर्माण गरेको प्याब्सन सामूहिक बस्तीको चैत १ गते उद्घाटन गरिनेछ । कोसी बाढी पीडितको समुदायका लागि रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक विगाह जग्गामा उक्त बस्ती बनाइएको छ ।

एक करोड पचास लाख रुपैंया लगानीमा निर्मित उक्त बस्तीमा २५ वटा घर छन् । प्याब्सनका सदस्य विद्यालयको योगदानबाट उक्त बस्ती निर्माण गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पुरीले जानकारी दिनुभयो । महाधिवेशनमा मुलुकभरबाट दुई हजार २ सय ४६ जना प्रतिनिधिको सहभागिता रहनेछ ।

प्याब्सनमा मुलुकभरबाट ५ हजार सदस्य विद्यालयले सदस्यता नवीकरण गरेको पनि पुरीले जानकारी दिनुभयो । यस पटक संगठनले विद्युतीय प्रणालीबाट मतदान गर्ने भएको छ । महाधिवेशनले २७ जना पदाधिकारी र ३९ जना सदस्य चयन गर्नेछ ।

यस पटक कुनै पनि उम्मेदवारले प्यानल बनाएर निर्वाचन लड्न नपाउने निर्णय पनि प्याब्सनले गरेको छ । सकेसम्म स्वसहमतिमै नेतृत्व चयन हुने पनि प्याब्सनले जनाएको छ ।

महाधिवेशनमा सीप, संस्कार र प्रविधियुक्त शिक्षाका लागि उचित पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली र समयानुकूल मूल्याङ्कन विधिको बारेमा छलफल गरिनेछ । साथै सूचना प्रविधिलाई हरेक विद्यालयमा अधिकतम प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने अध्यक्ष पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्