‘युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो’

फ्रान्कफर्ट ओडारमा हराएका दुई जना खोज्दै दूतावास

0
Shares

फाइल तस्बिर

सरस्वती कर्माचार्य, काठमाडौं ।

रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ ।

युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले बुधबार समाचारपत्रसँगको कुराकानीमा जर्मनस्थित नेपाली दूतावासमा सम्पर्क गरेका सबै नेपालीहरू युक्रेनबाट सुरक्षित रूपमा बाहिरिइसकेको जानकारी दिनुभयो ।

उहाँको अनुसार युक्रेनबाट जम्मा ५ सय ८० जना नेपाली सुरक्षित रूपमा बाहिरिएका छन् । तीमध्ये ४ सय ६६ जना पोल्यान्ड, ७८ जना स्लोभाकिया, २८ जना रोमानियामा र ८ जना हंगेरी पुगिसकेका छन् । ९ जना भने नेपाल फर्किसकेका छन् । नेपाल फर्केकाहरूमध्ये ५ जना आफ्नै खर्चमा र ३ जना भारत सरकारको सहयोगमा इन्डियन एयरलाइन्सबाट फर्केको राजदूत खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘उद्धार कार्य लगभग सकिएको छ । अब स्वदेश फर्काउने काम बाँकी रह्यो ।’ उहाँले सीमा क्षेत्र फ्रान्कफर्ट ओडारमा अझै १३ जना नेपालीको एउटा समूह अड्किरहेको र उनीहरूलाई छुटाउन दूताबासले सहजीकरण गरिरहेको जानकारी दिंदै भन्नुभयो–‘ उहाँहरूको सहजीकरणको लागि दूतावासका तृतीय सचिव सहारा चौँलागाइँ त्यहाँ पुग्नुभएको छ । उहाँहरूमध्ये राहदानी भएका ५ जनालाई सीमा अधिकारीहरूले छाडिसकेको छन् । एक जनामा कोरोना पोजिटिभ देखिएको छ । ५ जनालाई भोलि बिहान छाड्ने भएको छ । २ जना हराईरहेका छन् । सीमा अधिकारीहरूले उनीहरूलाई पनि खोजिदिने आश्वासन दिएका छन् ।’

राजदूत खड्काले युक्रेनबाट बाहिरिएका नेपालीहरू नेपाल फर्कनुको साटो प्रायः पोर्चुगल, फ्रान्स, स्पेनलगायतका देशमा गएको जानकारी दिंदै भन्नुभयो–‘यदि कोही स्वदेश फर्कन चाहनुहुन्छ भने दूतावासलाई सम्पर्क गरेमा हामी फर्काउन सहयोग गर्नेछौँ ।’ स्वदेश फर्कन आर्थिक अभाव भएमा गैर आवासीय नेपाली संघसंगठन, भारतीय दूताबास, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लगायतको सहयोग लिएर दूतावासले फर्काउन सहजीकरण गर्ने जानकारी पनि राजदूत खड्काले दिनुभयाे ।

मंगलबार पोल्याण्ड पुगेका ६ जना नेपाली यतिखेर पोल्याण्डको गैर आवासीय नेपाली संघको आवास गृहमा रहेको एनआरएनए पोल्यान्डका अध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘मंगलबार आउनुभएका नेपालीहरूसहित ५८ जना नेपाली अहिले हामीले व्यवस्था गरेको आवास गृहमा हुनुहुन्छ । उहाँहरूलाई पनि गन्तव्यतर्फ लाग्न हामी सहजीकरण गरिरहेका छौं ।’

यसैबीच रुसले आक्रमणको १४औं दिन बुधबार बिहान युक्रेनको राजधानी किभलगायतका क्षेत्रबाट नागरिकहरूलाई सुरक्षित स्थलतर्फ जाने समय प्रदान गर्दै युद्धविराम गरेको थियो । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय एजेन्सी युएनएचसीआरले आक्रमण शुरु भएयता २० लाखभन्दा बढी मानिस युक्रेनबाट बाहिरिएको जनाएको छ ।

बिहीबार फेरि रुसका विदेश मन्त्री सर्जी लाभ्रोभ र युक्रेनका विदेश मन्त्री मित्रो कुलेवा वार्ताका लागि टर्कीमा भेट्दै हुनुहुन्छ । यसअघि दुई देशका अधिकारीबीच ३ चरणमा वार्ता भैसकेको छ ।

Skip This