तालुपनाले शारीरिक सुन्दरता र प्रतिभामा ह्रास



पछिल्लो समय विश्वव्यापी रूपमै कपाल झर्ने समस्याका विषयमा धेरै मान्छे चिन्तित देखिएका छन् । तालु खुइलिएर उमेरमै बुढ्यौलीपना देखिएका युवामा शारीरिक सुन्दरता र प्रतिभामा समेत कमी आएको गुनासो बढिरहेको छ । यस्तो अवस्थामा धुलिखेल अस्पतालले कपाल प्रत्यारोपणका क्षेत्रमा नयाँ फड्को मारेको छ । यसै विषयमा १४ वर्षअघि धुलिखेल अस्पतालमा छालारोग विभाग नै शुरू गर्नुभएका काठमाडौं विश्व विद्यालयका वरिष्ठ छालारोग विशेषज्ञ प्राडा धर्मेन्द्र कर्णसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :

कपाल झर्ने समस्या के हो ?
यो समस्याका विषयमा पहिला त्यति चासो राख्दैनथे, अहिले धेरै चासो राख्न थालेका छन् । कपाल विभिन्न कारणले गर्दा झर्ने गर्छ । यसको पहिलो कारण वंशानुगत हुन्छ । बुबा, आमा कसैको कपाल पातलो छ, तालु छ भने त्यस्ता व्यक्तिमा योे समस्या आउने सम्भावना बढी हुन्छ । वंशानुगत कपाल पातलो हुने समस्या पनि धेरै प्रकारको हुन्छ । त्यसमध्येको प्रमुख भनेको तालुपना हो ।

कपाल झरेको र तालुपना भएको कसरी छुट्याउने ?
तालुपनामा विशेष गरी अगाडिको निधारको भाग र टुप्पीमा मात्र कपाल झरेको हुन्छ । साइड र पछाडिको कपाल सामान्य हुन्छ ।

तालुपना पुरुषमा मात्र हुन्छ कि महिलामा पनि हुन्छ ?
तालुपना भनेको पुरुषमा ५० देखि ६० प्रतिशतमा हुन्छ भने महिलामा १० देखि २० प्रतिशतमा हुन्छ । तर, पुरुषमा देखिने तालुपना कपाल पूरै झरेर चिल्लै हुन्छ भने महिलामा पूरै चिल्लो हुँदैन । पातलो मात्र (थिनी) देखिन्छ । पुरुषमा पहिला विस्तारै झर्दै गएर जरा सुक्दै गएपछि चिल्लो पूरै तालु हुन्छ ।

यस्तो किन हुन्छ ?
कपालको जरामा हुने केमिकल फाइबअल्फारिडक्टेज हुन्छ । कपालको जरामा २० बर्षको उमेरपछि त्यो केमिकलले गर्दा जरा सुक्दै जान्छ । कपालको जरा सुक्दै गएसँगै टुप्पो पनि पातलो हुँदै जान्छ । यो क्रम बढ्दै जाँदा जरा पूरै सुक्छ र टुप्पो पनि झरेर चिल्लो देखिन्छ । यो उमेरसँगै बढ्दै जान्छ । यतिमात्र नभई अहिले जंकफुड, मोटोपना, धुम्रपान, महिनावारीमा समस्या खानपान, रहनसहन, तनाव जस्ता कारणले गर्दा सानै उमेरदेखि नै तालुपनाको समस्या देखिने क्रम बढ्दो छ ।

धेरै चिन्ता अर्थात् तनावमा हुने व्यक्तिको पनि कपाल झर्छ र ?
तालुपनाको दोस्रो प्रमुख कारण नै तनाव रहेको छ । यसलाई टेलोजेनइफ्लिबियम भनिन्छ । यो शारीरिक, मानसिक तनावलगायत विभिन्न किसिमका व्यक्तिगत, पारिवारिक, सामाजिक घटनाका चिन्ताका कारण पनि कपाल झर्छ । नेपालमा २०७२ सालमा भूकम्प आएपछि धेरै मानिसमा चिन्ता बढ्यो र कपाल झर्ने समस्या पनि उत्तिकै बढेको थियो । यो डर–त्रासका कारण भएको घटना हो । पछिल्लो समय कोरोनाको समस्याका कारण पनि धेरैको कपाल झर्ने समस्या देखापरेको छ । दीर्घरोगी, किमो थेरापी गर्दा, परीक्षाको चिन्ताले, अनिन्द्राले पनि कपाल झर्छ ।

महिलाको कपाल झर्ने समस्या पुरुषको भन्दा फरक छ कि ?
कपाल झर्ने तेस्रो कारणमा हर्मोनको समस्या देखिएको छ । यो विशेष गरी महिलामा देखिएको छ । यसको प्रमुख कारण भनेको महिनावारीमा समस्या देखिएको छ । यस्तो पोलिसिस्टिक ओभेरियन सिन्ड्रमले गर्दा हुन्छ । यो समस्या भएका व्यक्तिमा महिनावारीमा अनियमितता, जिउ मोटाउँदै जाने, अनुहारमा रौं पलाउने, कपाल झर्ने समस्या देखिन्छ । २० देखि २५ बर्ष उमेर समूहमा महिलामा यो समस्या बढी देखिएको छ ।

यसको प्रमुख कारण के हो ?
यसको प्रमुख कारण जंकफुड बढी खाने, बढी मोटोपन हुने र शारीरिक व्यायाम नगर्नु नै हो । पहिला–पहिला मानिसको दैनिकी निकै सक्रिय थियो र समस्या कमैमा मात्र देखिन्थ्यो । योसँगै थाइराइडको समस्या पनि बढेर गएको छ । यसले गर्दा पनि कपाल झर्छ । पिटिटरी ग्ल्यानमा समस्या हुने, भिटामिनको कमी हुनाले पनि कपाल झर्ने गर्छ ?

कपाल झर्न नदिनका लागि कस्तो भिटामिन चाहिन्छ ?
कपाल झर्ने अर्को प्रमुख कारणमा भिटामिन डी, भिटामिन बी, आइरन, सागसब्जी, गेडागुडीको कमीका कारण कपर, जिन्क, म्याग्निसियम भिटामिनहरुको कमी भएको पाइन्छ । जीवनशैलीका कारण भिटामिन डीको कमी देखिन्छ । भिटामिन डीको मुख्य कारण जंकफुड र प्रोसेसफुड नै प्रमुख कारण हो । तारेको, फ्रिजमा राखेको खानेकुराले पनि जंकफुडमा कमी हुन्छ । पशुपक्षीको माध्यमबाट पाउने भिटामिन बी–१२ फ्रोजन फुडमा नष्ट हुन्छ । माछामासु पर्याप्त मात्रामा खाँदा र फ्रोजनको खानाले बी–१२ मात्रा कमी हुन्छ । आइरनको कमी, हेमोग्लोबिनको कमी महिनावारीमा धेरै रक्तश्राव हुने महिलामा हुन्छ । यतिमात्र नभई उपयुक्त स्याहार नगर्दा पनि कपाल झर्छ ?

कपालको स्याहार कसरी गर्ने ?
कपालमा स्याम्पु लगाएर धेरै मिच्नु हुन्न । कपाल धेरै मिच्दा कपालको बाहिरको प्रोटिन नष्ट हुन्छ र पखालिएर जान्छ । यसपछि कपाल कडा हुन्छ र कपाल टुक्रिन्छ । त्यसैले कपाल नुहाउनुभन्दा अघि कपालमा तेल लगाउनुपर्छ ।

कपाल प्रत्यारोपणमा किड्नी, लिभर, आँखा, छालामा जस्तो अरू व्यक्तिको अंग लिनु पर्दैन । यसका लागि आफ्नो टाउकोको साइड, पछाडि, दाह्री, छातीको कपाल लिइन्छ । यो कहिल्यै झर्दैन र यसको २ देखि ३ वटा जरा हुन्छ । यसैलाई जहाँ कपाल झरेको छ त्यहाँ सार्न सकिन्छ ।

नुहाउन नजानेर पनि कपाल झर्छ । नुहाउने बित्तिकै कपाल सुकाउने हतारमा ड्रायर प्रयोग गर्दा पनि सेम्पुले सुख्खा बनाएको कपाल थप तातोका कारण सुख्खा भएर झर्ने हुन्छ । कपाल कोर्दा मसिनो काइँयो प्रयोग गर्दा पनि कपाल झर्छ । नुहाएर रुमालले कपालाई मिची–मिची सुकाउँदा पनि कपाल टुक्रिन्छ ।

यसबाहेक कपाल झर्ने अन्य कारण कारणहरु पनि छन् कि ?
यरोपेसिया एरियाटा, ५ देखि १५ वर्षका बच्चाहरुमा बोल्दा, पढ्दा कपाल चलाइराख्ने तान्ने, कन्याउने बानी हुन्छ । कपाल जति चलायो, कन्यायो त्यति चिलाउँछ । यसबाहेक दुर्घटना भएर चोट लाग्दा खत बसेर कपाल नहुनु, पोलेको दाग, घाउ, फंगल संक्रमणले पनि कपाल झर्छ ।

के कारणले कपाल झरेको हो भनेर कसरी पत्ता लगाउने ?
नजिकैको छालारोग विशेषज्ञकोमा जाने र विशेषज्ञ चिकित्सकको सल्लाहअनुरूप मेसिनको माध्यमबाट (ट्राइकोसकोपी) परीक्षण गराउने । यो विधिबाट परीक्षण गर्दा कपालको जरासम्मको अवस्था के छ भनेर पत्ता लाग्छ । यो कपालको भिडियो एक्सरे जस्तै हो । यसले के कारणले कपाल झरेको हो स्पष्ट कारण पत्ता लाग्छ । त्यस्ता व्यक्तिमा हर्मोन लगायतका समस्या हो होइन पत्ता लगाउन रक्त परीक्षण पनि गरिन्छ । रक्त परीक्षणपछि आवश्यकताअनुसार उपचार गरिन्छ । कपाल झर्ने समस्या पहिलाको दाँजोमा अहिले धेरै बढ्दै गएको छ । यसको प्रमुख कारण जीवनशैलीमा नै केन्द्रित छ ।

कपाल प्रत्यारोपण भनेको के हो ?
कपाल प्रत्यारोपण भनेको किड्नी, लिभर, आँखा, छाला प्रत्यारोपणमा जस्तो अरू व्यक्तिको अंग लिनु पर्दैन । कपाल प्रत्यारोपणका लागि आफ्नो टाउकोको साइड, पछाडि, दाह्री, छातीको कपाल कहिल्यै झर्दैन र यसको २ देखि ३ वटा जरा हुन्छ । यसैलाई जहाँ कपाल झरेको छ त्यहाँ सार्न सकिन्छ । यसरी कपाल सार्नु या रोप्नुलाई कपाल प्रत्यारोपण भनिन्छ । यो कार्य ९० प्रतिशत कपाल झरेका व्यक्तिमा प्रत्यारोपण गरिन्छ ।

आँखीभौं, दाह्री, जुगा पनि रोपिन्छ कि ?
अवश्यकताका आधारमा रोपिन्छ । कसैको आँखीभौं छैन भने आँखीभौं, दाह्री छैन भने दाह्री र जुगा छैन भने जुँगा पनि रोपिन्छ । यति मात्र नभई सडक दुर्घटनामा परेर वा अन्य दुर्घटनामा परेर खत बसेको छ भने त्यस्तो ठाउँमा पनि कपाल रोपिन्छ ।

कपाल प्रत्यारोपणका लागि कपाल उखेलेको ठाउँमा पुनः कपाल उम्रन्छ ?
उम्रँदैन । मानिसको टाउँकोमा १ लाख कपाल हुन्छ । जसमा निधार र तालुसम्म ३० प्रतिशत हुन्छ । बाँकी ७० प्रतिशत साइड र पछाडि हुन्छ यसमा धेरै निकाल्ने भनेको १ हजार देखि ५ हजारसम्म हो । यो घना जंगलमा रुख मिलाएर काटे जस्तै हो । कपाल निकालेको भाग खालि देखिँदैन ।

यो कतिको खर्चिलो हुन्छ ?
कपाल प्रत्यारोपणका लागि समय धेरै लाग्नुका साथै सुन्दरताका लागि गरिने प्रत्यारोपण विधि भएकाले खर्चिलो नै हुन्छ । यसका लागि नेपालमा सामान नहुनुका साथै जनशक्ति धेरै लाग्ने गर्छ । शुरूमा ८० रुपियाँ ग्राफमा शुरु भएको सेवा अहिले ४० देखि ५० रुपियाँ ग्राफमा झरेको छ । कपाल रोप्ने एरिया र कपालको भागलाई लिएर खर्च लाग्छ । यो अर्जेन्ट उपचार नभएर सौन्दर्यताका लागि गरिने भएकाले प्रत्यारोपणका लागि आवश्यक पर्ने उपकरणहरु खरिद र भन्सार शुल्क नै महँगो छ । त्यसैले खर्चिलो हुन्छ । दक्ष जनशक्ति र अदक्ष जनशक्तिले गर्ने काममा शुल्क फरक पर्न सक्छ । अहिले नेपालमा अस्वस्थ प्रतिस्पर्धाले पनि गुणस्तरीय सेवा लिनबाट मान्छे वञ्चित भएका छन् ।

कपाल प्रत्यारोपण गर्न कति समय लाग्छ ?
कपाल प्रत्यारोपण गर्न १२ देखि २४ घण्टासम्म लाग्न सक्छ । एउटा कपाल प्रत्यारोपणका लागि कम्तीमा ३ जना डाक्टर, नर्स, प्राविधिक उपकरण प्रयोग हुन्छ ।

कपाल प्रत्यारोपण कुन उमेर समूह पार गरेका व्यक्तिले गर्न हुन्छ ?
अमेरिकन सोसाइटीले औँल्याएअनुसार २४ वर्षभन्दा कम उमेरका व्यक्तिले गर्नुहुन्न ।

रोपिएको कपाल मान्छे बाचुन्जेलसम्म रहन्छ । तर, कपाल रोपिसकेपछि केही समस्या भयो भने झर्न सक्छ । रोपेको १ देखि २ वर्षमा पुनः परीक्षण गर्नुपर्छ ।

यदि कुनै व्यक्तिको २४ वर्ष नहुँदै कपाल झरेर मानसिक समस्या भएको छ, घरबाट बाहिरै निस्कँदैन, डिप्रेसनमा गएको छ भने त्यस्तो व्यक्तिलाई अभिभावकको अनुमनि लिएर गर्ने गरिन्छ ।

कस्ता व्यक्तिलाई कपाल प्रत्यारोपण गर्नुहुन्न ?
प्रेसर, मधुुमेह नियन्त्रणमा छैन भने कपाल प्रत्यारोपण (सार्न) मिल्दैन । तर, रक्तश्राव हुने, एचआईभी एड्स, कुनै एलर्जी छ, मासु पलाउने समस्या, कपालमा पाप्रा आउने समस्या छ भने त्यस्ता व्यक्तिलाई गर्नु हुन्न । माथिल्लो उमेर समूह तोकिएको छैन । ८० वर्षमाथिका व्यक्तिको पनि कपाल प्रत्यारोपण गरेको छु ।

प्रत्यारोपण गरिएको कपालको आयु कति वर्ष हुन्छ ?
मान्छे बाचुन्जेल हुन्छ । तर, कपाल रोपिसकेपछि केही समस्या भयो भने कपाल झर्न सक्छ । कपाल रोपेको १ देखि २ वर्षमा पुनः परीक्षण गर्नुपर्छ ।

पहिला समस्याको पहिचान गरेर उपचार गरेपछि निको हुन्छ । कपाल प्रत्यारोपण व्यापारका रूपमा भइरहेको छ । कपाल प्रत्यारोपण सोसाइटीको मूल मान्यता छालारोग विशेषज्ञले रोग पहिचान गरी उसकै मातहतमा उपचार गर्नुपर्छ भन्ने विषयमा जोड दिँदै आएको छ । नेपालमा ईएनटी सर्जनले पनि कपाल प्रत्यारोपण गर्छन् । बिनापहिचान अदक्ष जनशक्तिले नेपालमा व्यापारका लागि काम गरिहेका छन् । कपाल प्रत्यारोपण ज्ञान र सीपका आधारमा गर्नुपर्छ । २०१४ देखि हालसम्म मैले ६ जनाभन्दा बढीमा कपाल प्रत्यारोपण गरिसकें ।

प्रतिक्रिया दिनुहोस्