मोडलिङमा रमाउँदै रमेश



परिवारका बुबा, दाइ, मावली खलकका सदस्यहरू सबैजसो सेनामा भए पनि राजधानीको सीतापाइलाका ३२ वर्षीय रमेश थापालाई भने सानैदेखि रहर थियो मोडलिङमा जम्ने। परिवार र आफन्तका धेरैजसो सदस्य सेनाको जागिरमा रमाए पनि रमेश भने आफूले चाहेको मोडलिङ क्षेत्रमा काम गर्दै र अघि बढ्दै जाँदा अहिले सफल कोरियोग्राफर र म्युजिक भिडियो निर्देशकका रोजाइ र चल्तीको मोडल बन्न सफल भएका छन्।

‘सेनाको आवेदन खुल्नेबित्तिकै बुवाले त्यसबारे सूचना प्रकाशित भएको पत्रिका घरमा ल्याएर राखिदिनुहुन्थ्यो। तर, म भने मोडल बन्न चाहन्थें। हुन त यो क्षेत्रमा मेरो कोही पनि थिएन। तर, निरन्तररूपमा हतोत्साही नभई काम गर्दै जाँदा अहिले नेपालका सफल कोरियाग्राफर र म्युजिक भिडियोले खोज्ने मोडलसम्म बन्न सकेको छु’ रमेश भन्छन्–‘मेहनतका साथ काम गर्दै गए मोडलिङमा स्कोप छ। तर, जे–जस्तो परिस्थिति अघि आए पनि लगातार मेहनत गरिरहनुपर्छ, हार खानु हुँदैन। काम गर्ने क्रममा दुःखचाहिँ हुन्छ। हरेश नखाई अघि बढ्नुपर्छ। कमाइ पनि हुन्छ। मैले अहिले यसैले जीवन धानेको छु। हुन त यो क्षेत्रमा पैसा हालेर आउनेले गाह्रो मान्न पनि सक्छन्। तर, अविचलित रूपमा लागिरहे त्यस्ता अप्ठ्याराहरू विस्तारै आफैँ पाखा लाग्छन्। प्रतिभा नभई केही हुँदैन, प्रतिभा भए कसैले पछाडि पार्न सक्दैन।’

रमेशले सानैदेखिको सपना पूरा गर्न २०६७ सालबाट द ल्यान्ड अफ ड्रिम्सबाट राम थापाका साथ नृत्य सिके। दुई तीन वर्ष कोरस डान्सर भएर लोक दोहोरीको म्युजिक भिडियो र फिल्ममा नृत्य गरे। काम गर्दै जाँदा कमल राई र बब्बु थापाको सहायक नृत्य निर्देशक भएर नृत्य तथा मोडलिङका विभिन्न विषयमा ज्ञान पनि आर्जन गरे। त्यसपछि भने उनको सफलताको दौड शुरू हुन थाल्यो। मोडलिङ क्षेत्रलाई पेसाको रूपमा अघि बढाउने क्रममा उनले नृत्यकलामा पनि आफूलाई पारंगत बनाउँदै लगे।

त्यस क्रममा भारतको गुहावटीमा सम्पन्न साउथ एसिएन गेममा नृत्य गरेर देखाए भने एनएफडीसी अवार्डमा प्रियंका कार्कीसँग नृत्य गरेर नृत्यप्रेमीलाई मोहित बनाउने काम गरे। कामना फिल्म अवार्डस्, नेफ्टा अवार्डजस्ता विभिन्न फिल्म अवार्डमा नृत्य गरेर कलाकर्मीको आँखामा पर्न सफल उनले थुप्रै रंगमञ्चीय कार्यक्रममा नृत्य गर्दै आफ्नो नृत्य प्रतिभालाई उजागर गरिरहे। यस क्रममा थाइल्यान्ड पुगरे त्यहाँको फुड फेस्टिभलमा पनि नृत्य कला प्रस्तुत गरे। नृत्यकलालाई अघि बढाउने क्रममा उनले तामाङ फिल्म छयारगलममा कोरियोग्राफी समेत गर्न भ्याए।

नृत्य गर्दै मोडलिङ क्षेत्रलाई पनि अघि बढाउने क्रममा घर त मेरो स्याङजा रयाले, पानको पत्ता छ, हैन र माया, मस्यौरी, शिरफुल, राम साईंली, राम कसमजस्ता गीतका म्युजिक भिडियोले उनलाई दर्शकमाझ चिनायो। २०१७ को सुपर मोडल रहेका उनले एक दशक लामो मोडलिङका क्रममा ६०/७० म्युजिक भिडियोमा नृत्य र मोडलिङ गरिसकेका छन्।

आफूले नृत्य जानिसकेपछि रमेशले निर्वाना कला केन्द्र, साई भिजन, द ल्यान्ड अफ ड्रिम्स, न्यु मेलोडी डान्स एन्ड फिटनेस सेन्टर, सीपीएफ डान्स एन्ड फिटनेस सेन्टरबाट नृत्य प्रशिक्षणसमेत दिएका छन्। म्युजिक भिडियो मोडलिङमा उत्कृष्टता प्रदान गरेवापत थापाले नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७, नेसन पावर न्युज म्युजिक अवार्ड २०७७ र म्युजिक खबर म्युजिक अवार्ड २०७८ लाई आफ्नो बनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्