आलुमा आत्मनिर्भर बनाउने प्रयास



स्याङ्जा ।

आलुमा आत्मनिर्भर बनाउन आलुको बिउ वितरण गरिएको छ । स्याङ्जा जिल्ला हिउँदे आलुमा आत्मनिर्भर भएपनि वर्षे आलुमा भने आयातको भरमा बस्नुपर्ने बाध्यता थियो ।

गतवर्ष देखि आँधीखोला गाउँपालिकाले वर्षे आलुखेती शुरू गरेको थियो । योपटक अर्जुनचौपारी गाउँपालिकाले पनि शुरू गर्दैछ । उच्च पहाडी क्षेत्रमा मात्रै हुने वर्षे आलु संरक्षण गरी आत्मनिर्भर बनाउन गाउँपालिकाले थालेको यो अभियानमा यहाँका स्थानीयले पनि साथ दिएका छन् । जिल्ला ज्ञान केन्द्रका अनुसार जिल्लाको हरिनास गाउँपालिका, कालीगण्डकी गाउँपालिका, बिरुवा गाउँपालिकालगायतका उच्च पहाडी क्षेत्रमा यो आलु फल्ने गर्छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पालिकालाई आलुखेतीमा आत्मनिर्भर बनाउन वर्षे आलुको बिउ वितरण गरेको हो । आलुको पकेट क्षेत्र घोषणा गरेर पालिकाको उच्च पहाडी क्षेत्रका किसानलाई गाउँपालिकाले वर्षे आलुको बिउ वितरण गरेको जनाएको छ । गएको वर्ष आलुखेतीको परीक्षण गरेको गाउँपालिकाले योपटक भने आत्मनिर्भर बनाउने गरी आलुको बिउ वितरण गरिएको पालिका अध्यक्ष दीर्घनारायण अर्यालले बताउनुभयो ।

परीक्षणका लागि वडा नम्बर ५ आरुचौरमा आलु लगाइएको थियो उहाँले भन्नुभयो– ‘वर्षे आलुखेती राम्रो भएपछि किसानलाई निःशुल्क बिउ वितरण गरेका छौं । योपटक लगाएको आलु अर्को साल गाउँपालिकाभरि लगाउने योजनामा रहेको अर्यालको भनाइ छ । हिउँदे आलुको भन्दा वर्षे आलुको लागि यहाँको माटो उपयुक्त भएकाले गाउँपालिकाले वर्षे आलु उत्पादनमा जोड दिएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ पालिकाभरिकै उच्च पहाडी क्षेत्र हो । यहाँ हिउँदे आलुभन्दा बढी वर्षे आलुखेती लगाइँदै आएको थियो । प्राविधिक समस्या र माटो परीक्षणको समस्याले उत्पादनमा ह्रास हुन थालेपछि किसानहरूले पर्याप्त मात्रामा आलुखेती गर्न छाडेका थिए । यसको निरन्तरताका लागि पालिकाले आलु पकेट क्षेत्र घोषणा गरेर यहाँका किसानलाई आलुमा आत्मनिर्भर बनाउन लागेको हो ।

अहिले ९ वटा टोलसमिति गठन गरेर समितिमार्फत आलुको बिउ वितरण गरिएको वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता ख्यामनारायण खनालले बताउनुभयो । उच्च पहाडी क्षेत्रमा हुने तारे आलुको बिउ राम्रो फल्ने भएपछि सोही बिउ वितरण गरेको खनालले बताउनुभयो । अहिले वितरण गरेको आलु बिउपुँजी हो उहाँले भन्नुभयो– ‘अर्को साल यो आलु गाउँपालिका भरी वितरण गर्ने हो ।’

किसानले गाउँपालिकालाई आलुको बिउ बिक्री गर्नेछन् उनीहरूको आम्दानीको स्रोत पनि हुने बिउ संरक्षण पनि हुने प्रवक्ता खनालले बताउनुभयो । उच्च पहाडी भेगमा बागलुङको तारे भन्ने क्षेत्रबाट ल्याइएको बिउ लगाएको हुँदा यो आलुको नाम नै तारे राखिएको स्थानीय किसान जनक खनाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्