विशेष आर्थिक क्षेत्र असफल भएकाे होईन, उद्योग असफल भएकाे हाे : चण्डीप्रसाद भट्ट



काठमाडौं ।

विशेष आर्थिक क्षेत्रमा स्थापित पहिलो उद्योग शक्ति मिनरल फेल भएको सेजले जनाएको छ । कुल उत्पादनको ६० प्रतिशत विदेशमा निर्यात गर्ने सर्तसहित स्थापित उक्त उद्योगले तोकिएको परिमाणमा सामान निर्यात गर्न नसकेको सेजले जनाएको छ ।

शक्ति मिनरल्स प्रालिद्वारा उत्पादित वस्तु न्यून गुणस्तर रहेको भन्दै भारतले पटकपटक फिर्ता गर्नु, सेजले उद्योग बन्द गर्न पत्र पठाउनु र उद्योग व्यवस्थापनले सेजविरुद्ध उच्च अदालत मुद्दा दायर गर्नुले नेपालमा सेजको अवधरणा फेल भएको हो कि भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा सेजका कार्यकारी निर्देशक चण्डीप्रसाद भट्टले भन्नुभयो–‘नेपालमा सेज अवधारणा असफल भएको होइन, शक्ति मिनरल्स प्रालि असफल भएको हो ।’

शक्ति मिनरल्सले उत्पादन गर्ने सामानको गुणस्तर वृद्धि गर्ने ठाउँ रहेको, तर उद्योग व्यवस्थापनले पहल नगरेको, बरू ऐन मिच्दै जबरजस्ती उद्योग सञ्चालन गरिरहेको कार्यकारी निर्देशक भट्टले बताउनुभयो ।

गुणस्तर युक्त वस्तु उत्पादन गर्ने दायित्व उद्योगकै भएको जनाउँदै उद्योग धराशयी होस् भन्ने भावना सेजको नरहेको उहाँले बताउनुभयो । उद्योगका लागि आवश्यक पर्ने मेसिन स्थापन गर्दा सेजसँग परामर्श लिनुपर्ने, गुणस्तरीय सामान उत्पादन गर्न गुणस्तरीय मेसिन एवं कच्चा पदार्थ प्रयोग गर्नुपर्ने उहाँको राय थियो ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा उद्योग स्थापना भएको पहिलो वर्ष सबै उत्पादन स्वदेशमै बिक्री गर्न पाउने र दोस्रो वर्षपछि उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने तथा ४० प्रतिशत मात्रै स्वदेशमा बिक्री गर्न पाइने उल्लेख छ ।

सोही प्रावधान अनुरूप भैरहवा सेजमा स्थापित शक्ति मिनरल्सले वाह्य अन्य उद्योगले तोकेको परिमाणभन्दा अधिक वस्तु भारत तथा तेस्रो मुलुकमा निर्यात गरिरहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो ।

तर, भैरहवा सेजमा स्थापित शक्ति मिनरल्स प्रालिले भारत तथा तेस्रो मुलुकमा निर्यात गर्नु पर्नेमा कोभिड– १९, भन्सारको ढिलासुस्ती, ढुवानीमा रहेको समस्यालगायतका बहाना बनाउँदै स्थापना कालदेखि नै ७० प्रतिशतभन्दा बढी उत्पादन स्वदेशमै बिक्री वितरण गरिरहेको छ ।

भैरहवा सेजमा २०७६ साल स्थापित उक्त उद्योगले आर्थिक २०७६–७७ मा २३ दशलव ८४ प्रतिशत, आव २०७७–७८ मा २ दशलव ५६ प्रतिशत र चालु आवको पहिलो ६ महिनामा ११ दशलव ५१ प्रतिशत मात्रै निर्यात गरेको आँकडाले देखाएको छ । कानुनभन्दा माथि कोही नभएकाले उद्योग बन्द गर्न पत्र लेखिएको कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगलाई हतोत्साहित गर्ने सेजको मनसाय रहेको छैन ।

शक्ति मिनरल्सले भने कोरोनाका कारण समस्या उत्पन्न भइ निर्यात प्रभावित हुँदै आएको, भन्सार नाकामा ढिलासुस्ती हुुने गरेको, भारतबाट ढुवानीका साधन आउन नमान्ने गरेको बताएको छ । सेज कार्यालयले भने भन्सारबाट त्यस्तो कुनै ढिलाइ नभएको बताएको छ । सेजका अनुसार मूल समस्या गुणस्तरीय सामान उत्पादन गर्न नसक्नुमा रहेको छ । उक्त उद्योगले चुनढुंगालाई प्रशोधन गरी कुखुरा, हाँस तथा अन्य पशुवस्तुले खाने लाइमस्टोन चिप्स र पाउडर उत्पादन गर्ने गरेको जनाइएको छ ।

वैदेशिक व्यापार घाटा घटाउने उद्देश्यका साथ सेजको अवधारणा अगाडि सारिएको थियो । सोही अवधारणा अनुसार भैरहवा सेज सञ्चालनामा आइसकेको छ भने सिमरा, पाँचखाल, सिरहा, विराटनगर, कपिलवस्तु, जुम्ला, धनगढी, नुवाकोट, नेपालगञ्ज, झापा, धनुषा, रौतहट र गोरखामा सेज स्थापनाको काम भइरहेको छ ।

भैरहवा सेजभित्र हाल शक्ति मिनरल्स, पञ्चकन्या स्टिल, ब्रिलेन्ट लाइटिङसहित ६ वटा उद्योग मात्र हाल सञ्चालनमा रहेका छन् । खाली प्लट भाडाका लागि पटक–पटक आह्वान गर्दा समेत उद्योगी लगानीका लागि तत्पर भएका छैनन् । अर्कोतर्फ सेजमा स्थापित पहिलो उद्योगले नै विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को मूलभूत प्रावधान लत्याउँदै तोकिएभन्दा कम परिमाणमा भारत तथा तेस्रो मुलुकमा वस्तु निर्यात गर्ने गरेको छ ।

सोही कारण गत मंसिर १४ गते सेजले उद्योग बन्द गर्न पत्र लेखेको थियो । सेज कार्यालयको उक्त कदमलाई चुनौती दिँदै गत मंसिर २१ गते शक्ति मिनिरल्स प्रालिले उच्च अदालत दाङमा मुद्दा दायर गरेको थियो । अदालतको मंसिर २२ गते बसेको इजलासले परमादेश जारी गर्दै यथावत र पूर्ववत्अनुसार नै उद्योग सञ्चालन गर्न दिनु भन्ने आदेश दिएका कारण अहिले उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्