सुन्तला खेतीमा आकर्षण बढ्यो



गुल्मी ।

पछिल्लो समय गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेतीतर्फ आकर्षित हुन थालेका हुन् । गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाँउका प्रदिप मरासिनीले विगत पाँच वर्षदेखि आफ्नो पुख्र्यौली पेसा सुन्तला खेती गर्दै आउनुभएको छ ।

३५ रोपनी क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट वार्षिक ५५ देखि ७० क्विन्टल सुन्तला उत्पादन हुने गर्दछन् । उत्पादित सुन्तला बजारीकरणको कुनै समस्या नरहे पनि नयाँ नयाँ रोगका कारण सुन्तला खेतीमा चुनौती देखिएको प्रदिप मरासिनीको भनाइ छ ।

उहाँको बगैंचामा अहिले २६० बोट सुन्तलाले उत्पादन दिईहरेका छन् । आफ्नै माटोमा पसिना बगाएर राम्रो आम्दानी गर्दे आएका मरासिनीले विदेश गए पनि त्यहाँ सिकेको सिप र कमाएको पैसा उत्पादनशील क्षेत्रमा लगानी गर्न उहाँको आग्रह छ । सरकारले पनि किसानको लागि विभिन्न कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

गुल्मीमा सुन्तला उत्पादन बढ्यो
गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा १२ दशमलव ४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । पछिल्लो समय गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि भएको हो । गुल्मी जिल्लामा यस वर्ष पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन गरिएको थियो भने अहिले पाँच सय ३९ हेक्टरमा सुन्तला उत्पादन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले बताउनुभयो । उत्पादकत्व गत वर्ष १०दशमलव ७५ मेट्रिक टन र यो वर्ष ११ दशमलव २० मेट्रिक टन उत्पादन भएको छ । यो वर्ष उत्पादन बढ्नुमा उत्पादन क्षेत्रफलमा वृद्धि, फल पातलो भए पनि फलको आकार ठूलो भएको, बगैंचा व्यवस्थापनमा सचेतना बढ्नु, मौसम अनुकूल हुनु र फल्ने बोटको संख्यामा वृद्धि भएको भण्डारीले बताउनुभयो ।

अहिले करिब १० करोड ८० लाख सुन्तलाबाट आम्दानी हुने अनुमान गरिएको छ । जिल्लाका सबै स्थानमा सुन्तला खेती गरिएको छ । तर, उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ । मुसिकोटको ददल्का, सत्यवतिको लिम्घा, भार्से र ठूलो लुम्पेक, कालिगण्डकीको अर्बेनी, जयखानी, छत्रकोटको हुँगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् ।

गुल्मी दरबारको गौडाकोट, जुभुंग, रेसुंगा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, वस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्