रामप्रसादले एकसाथ तयार पारे सात गीत

0
Shares

१४ वर्षदेखि अमेरिका बस्दै आएका लोकप्रिय लोकगायक रामप्रसाद खनालले नेपाल आएको समय पारेर एकसाथ सात गीत तयार पारेका छन् भने माटोको दुखाइ नामक कविता संग्रह सार्वजनिक गरेका छन्।

खनालले लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक गीत तयार पारेका छन्। ती यीमध्ये चार गीतको भिडियोसमेत छायांकन भइसकेको र तीन गीतको भिडियो छायांकन गर्न बाँकी रहेको उनले जानकारी गराएका छन्। उनका अनुसार कोरोनाका कारण बाँकी गीतको भिडियो छायांकन गर्न सम्भव भइरहेको छैन। ‘सबै गीतको भिडियो बनाउने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो। बाँकी तीन गीतको भिडियो अहिले बनाउने कि पछि बनाउने केही निर्णय गर्न सकेको छैन’ खनालले भने।

उनले तयार पारेका सात गीतमध्ये हे कृष्ण हे राम बोलको भजनको भिडियो सार्वजनिक भइसकेको छ। भजनमा शब्द, संगीत र स्वर उनकै छ भने संगीत संयोजन विनोद बाजुराली रहेको छ। भिडियोमा गायक खनाल, शिवहरि पौडेललगायतले अभिनय गरेका छन्। भिडियो प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेका हुन्। भजनले समाजमा धार्मिक आस्था बा“ड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताए।

खनालका अन्य गीतमध्ये तिम्री आमा मेरी आमा बोलको लोक आधुनिक गीत पनि हालै सार्वजनिक भएको छ। गीतमा श्रीमतीलाई घर र माइतमा समान व्यवहार गर्न प्रेरित गरिएको छ। खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिएका छन्। लोक गीत र दोहोरी गीतलाई गाउँबाट सहर र देशबाट विदेशसम्म पुर्याई प्रवद्र्धन गर्दै आएका खनालले गीतमा भनेका छन्ः

तिम्री आमा मेरी आमा उस्तै उस्तै होइनन् र?
तिम्रा बा र मेरा बा नि दुवै उस्तै छैनन् र?
भन मेरी प्राण प्रिय कि गल्ती म बोलेँ आज
भतभती मन पोल्यो मैले मुखै खोलेँ आज।
मार्मिक ढंगले तयार पारिएको गीतमा खनालले भनेका छन्
तिम्रा दाइ भाइ मेरा दाइ सोचे उस्तै होइनन् र?
तिम्रा दिदी बहिनी जस्तै मेरा पनि छैनन् र?
तिमीलाई कति प्यारा लाग्छन् तिम्रा छोरा छोरी
सासूलाई नि त्यस्तै होला खोइ बुझेकी मोरी?
भन मेरी प्राण प्रिय कि गल्ती म बोलेँ आज
भतभती मन पोल्यो मैले मुखै खोलेँ आज।

गीतको मर्मअनुसार हास्य अभिनेता तथा निर्देशक निर्मल शर्मा ‘गैंडा’ ले यसका भिडियोले मार्मिकरूपमा तयार पारेका छन्। राजु केसीको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको भिडियोमा गायक खनालका साथमा कमला रेग्मी, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरेका छन्।

सुनीता बुढाक्षेत्रीसँग उनले गाएको अर्को गीत एउटा ढुकुर उडी गयो दोहोरीमा तयार भएको छ। भिडियोसमेत बनेको गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन्। त्यस्तै, बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले बोलको लोकगीतमा उनकै शब्द, संगीत र स्वर छ भने गीतको भिडियो छायांकन भइसकेको छ। गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गरेका छन्।

यीबाहेक यस्तै छ यहाँको चलन शीर्षकको गजल, बाँकी छ हेर शीर्षकको ख्याली गीत र फूल फुलेझैं बोलको दोहोरी गीतको भने भिडियो निर्माण गर्न बाँकी रहेको खनालले बताए। यस्तै छ यहाँको चलनमा थानेश्वर गौतमको संगीत, विनोद बाजुरालीको संगीत संयोजन छ भने शब्द र स्वर उनकै छ। फूल फुलेझैं दोहोरी गीतमा उनकै शब्द रहेको छ। यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन्।

कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ। एक समय नेपाल टेलिभिजनमा लोकदोहोरी कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेको श्रेय पाएका खनालले १२ सय बढी गीतमा स्वर दिएका छन् भने लोकगीत, दोहोरी गीत, तीज र भजन गरी ५२ एल्बम बजारमा ल्याएका छन्।