गोवर्द्धन पूजा र हलि तिहार आज मनाइँदै


काठमाडौँ ।

यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन पूजा, बली राजा, गोरु तथा हलिको पूजा गरी मनाइँदैछ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट गोवर्द्धन पर्वत बनाई पूजा गर्ने धार्मिक परम्परा छ।

भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट बचाएको सम्झनामा यो पूजा गरिँदै आएको हो।

यसैगरी, आज बली राजाको पूजा गर्नुका साथै वर्षभरि कृषि कार्यमा सहयोग गर्ने गोरु, हलि तथा किसानलाई सम्मानपूर्वक पूजा गरी मीठा परिकार खुवाउने चलन छ।

गोरुलाई भगवान् महादेवको वाहनका रूपमा समेत पूजा गरिन्छ। कृषि कर्ममा संलग्न हलि र किसानको सम्मान गरिने भएकाले यस दिनलाई हलि तिहार पनि भनिन्छ।