ध्वनिभन्दा पाँचगुणा बढी वेगको क्षेप्यास्त्र बनाएको उत्तर कोरियाको दाबी



प्योङयाङ, (एजेन्सी) ।

उत्तर कोरियाले ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको एउटा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ । नयाँ वर्ष शुरु भएयता उत्तर कोरियाले गरेको यो प्रमुख अस्त्र परीक्षण हो ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय किलोमिटर परको निसानामा ’ठ्याक्कै प्रहार’ गरेको थियो । यो हाइपरसोनिक क्षेप्यास्त्रको दोस्रो परीक्षण हो । हाइपरसोनिक क्षेप्यास्त्रलाई पहिचान गर्न बलिस्टिक क्षेप्यास्त्रभन्दा बढी समय लाग्ने विज्ञ बताउँछन् । प्योङयाङको सैन्य सामथ्र्य अभिवृद्धि गर्ने प्रतिबद्धता किम जोङ उनले गरेसँगै यसको परीक्षण भएको हो । नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण प्योङयाङले आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताएका थिए ।

दक्षिण कोरिया–अमेरिका वार्ता स्थगित भइरहँदा उत्तर कोरियाले अघिल्लो वर्ष कैयौं प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो । हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीनसहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ । पछिल्लो परीक्षणलाई सबैभन्दा पहिले जापानी तटरक्षक निकायले बुधबार बिहान पहिचान गरेको थियो । त्यसपछि सोलका रक्षा अधिकारीहरूले त्यसलाई पुष्टि गरेका थिए ।

बुधबारको परीक्षणमा हाइपरसोनिक ग्लाइडिङ वारहेड (युद्धशीर्ष), रकेटको बुस्टरबाट अलग भएको थियो र १ सय २० किलोमिटरसम्म यताउता घुमेर ७ सय किलोमिटर पर रहेको निसानामा ठ्याक्कै प्रहार गरेको केसीएनएको विवरणमा उल्लेख छ । उक्त समाचारमा यो पछिल्लो परीक्षणले क्षेप्यास्त्रको उडान नियन्त्रण र हिउँदयाममा पनि काम गर्ने क्षमतालाई पुष्टि गरेको उल्लेख गरिएको छ । हाइपरसोनिक अस्त्रहरू साधरणतया बलिस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्छन् भने ध्वनिभन्दा पाँचगुणा बढी अर्थात् करिब ६२ सय किलोमिटर प्रतिघण्टा वेगमा उड्छन् ।

कारनिगी इन्डाओमेन्ट फर इन्टरनेसनल पिसका रक्षाविज्ञ अंकित पान्डाले रोएटर्स समाचार संस्थालाई हालै परीक्षण गरिएको क्षेप्यास्त्र गएको सेप्टेम्बरमा परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रजस्तै ठ्याक्कै नभएको बताएका छन् । तर, दुवैबीच साझा विशेषता भएको उनको भनाइ छ । नयाँ क्षेप्यास्त्रलाई सबैभन्दा पहिले गएको अक्टोबरमा प्योङयाङमा गरिएको प्रतिरक्षा प्रदर्शनीमा सार्वजनिक गरिएको थियो ।

उत्तर कोरियामा कोरोनाभाइरस महामारीका कारण लगाइएको नाकाबन्दीले खाद्य संकट निम्त्याइरहँदा यो परीक्षण भएको हो । गत साता वर्षान्तमा आयोजित बैठकमा किमले आफ्नो देशले ‘जीवन र मृत्युको महान् संघर्ष’ गरिरहेको उल्लेख गर्दै विकास अभिवृद्धि गर्ने र जनताको जीवनस्तर सुधार्ने नयाँ वर्षको लक्ष्य भएको बताएका थिए ।
त्यसका बाबजुद उत्तर कोरियाले आफ्नो अस्त्र कार्यक्रमलाई सुस्त बनाउने कुनै संकेत दिएको छैन ।

अमेरिकाले उत्तर कोरियालाई परमाणु अस्त्र त्याग्न भन्दै आएको छ । प्योङयाङ र राष्ट्रपति जो बाइडनबीचको सम्बन्ध हालसम्म तनावपूर्ण नै देखिएको छ ।

अन्तर्राष्ट्रिय समुदायको निन्दा
उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका हुन् ।

‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ ।’ –दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ । त्यस्तै, जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत् प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्यालिस्टिक मिसाइल करिव ५ सय किलोमिटर टाढासम्म पुगेको जापानका रक्षामन्त्री नोबुओ किसीले बताएका छन् ।

परीक्षणबारे अमेरिकी गुप्तचर निकायका अधिकारीले सूक्ष्म विश्लेषण गरेको प्राप्त समाचारमा जनाइएको छ । उत्तरले बुधबार गरेको परीक्षण यस वर्षकै पहिलो आणविक परीक्षण हो । उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।
आफूमाथि लागेका प्रतिबन्ध हटेमात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले जवाफ दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्