दिल्लीमा एकैदिन ५८ हजारमा कोरोना पुष्टि

५ सय ३४ को मृत्यु



नयाँदिल्ली, एजेन्सी ।

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ भने पछिल्लो २४ घन्टामा ५ सय ३४ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कफ्र्युलगायतका प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ । भारतमा २ हजार १ सय ३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६ सय ५३ जनामा नयाँ भेरियन्ट देखिएको हो ।
महाराष्ट्रपछि दिल्लीमा नयाँ भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४ सय ६४ जनामा ओमिक्रोन देखिएको छ ।

त्यस्तै, दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो । त्यस्तै, कर्नाटकमा मंगलबार एकैदिन २ हजार ५३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १ सय ४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यु भने यथावत् नै छ । कफ्र्युको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।

यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रिकालीन कफ्र्यु लगाइएको थियो । तर, संक्रमण झन् बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहन्तमा कफ्र्यु लगाइने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्