खतिवडाको ‘मृतिका सुगन्ध’ प्रथम



सुनसरी ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका गणेश खतिवडाको ‘मृतिका सुगन्ध’ शीर्षक कविताले प्रथम पुरस्कार पाएको छ । स्वर्गीय कवि गुरुङको ५०औं जन्मजयन्ती र ३०औं राष्ट्रिय कविता महोत्वमा विजेता खतिवडाले नगद २१ हजार रुपियाँ र प्रमाणपत्र हात पार्नुभयो ।

झापाका प्रकाश निरौलाको ‘गाउँका कविता’ शीर्षकले दोस्रो पुरस्कार पाएको थियो । निरौलाले नगद १५ हजार रुपियाँ हात पार्नुभयो भने खोटाङका मुकुन्दकृष्ण थापाको ‘राहदानीको विलौना’ तृतीय हुँदै नगद ११ हजार रुपियाँ हात पार्न सफल भएको थियो । मोरङका नगेन्द्र सुवेदी र उदयपुरका सुमित्रा पोखरेलाई सान्तवना पुरस्कार नगद ५ हजार रुपियाँ प्रदान गरिएको थियो ।

उक्त अवसरमा समाजमा विभिन्न पक्षबाट योगदान दिने २१ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित र विजेताहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यसैबीच, विमल स्मृति पुस्तकालयका संरक्षकसमेत रहेका पूर्णबहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपियाँको अक्षय कोष स्थापना गरेको बताउनुभयो । कार्यक्रममा प्रत्येक वर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको थियो ।

पुस्तकालयको तर्फबाट मुन्धुम कवि साहित्यकार प्रदीप मेन्याङ्बोले आगामी मंसिर १९ गतेकै दिन पारेर नगद २ लाख रुपियाँको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गर्नुभयो । उहाँले स्वदेश र विदेश बस्ने नेपालीभाषी लेखक साहित्यकारहरूले लेखेका आख्यान र गैरआख्यान, काव्यका उत्कृष्ट पुस्तकलाई आगामी ०७९ सालको मंसिर १९ गतेदेखि प्रदान गरिने घोषणा गर्नुभयो ।

लेखक साहित्यकारले लेखेको उत्कृष्ट पुस्तकलाई ‘विमल कृति पुरस्कार’ प्रदान गर्न संरक्षक अध्यक्ष गुरुङ र छोरी शान्तिले काठमाडौंका प्राज्ञ कवि शशी लुमुम्बू, मुन्धुम साहित्यकार प्रदीप मेन्याङ्बो, लेखक राजकुमार दिक्पाल (पोर्चुगल), जसकुमार बेखर्ची राई (अमेरिका) र डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ (हङकङ) लाई तत्कालका लागि जिम्मेवारी दिएका छन् ।

व्रिटिस गोर्खा लाहुरे पूर्णबहादुर गुरुङ र उहाँका स्वर्गीय श्रीमती सरस्वती गुरुङ र छोरी शान्तिले १९ वर्षको आयुमा ०४८ साल वैशाख २४ दिवंगत भएका कवि विमलको स्मृतिमा धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्