आङ सान सुकीलाई सजाय सुनाइएकोमा विचलित : भारत



इन्डिया न्युज नेटवर्क ।

भारतले म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकी र अन्यका सम्बन्धमा हालै अदालतबाट आएको फैसलाबाट आफू विचलित भएको बताएको छ । विदेश मन्त्रालयले मंगलबार विधिको शासन र लोकतान्त्रिक प्रक्रियालाई कायम राख्नुपर्ने बताएको छ ।

म्यानमारको अदालतले आङ सान सुकीलाई सार्वजनिक अशान्ति भड्काएको र कोभिड–१९ आचारसंहिता उल्लंघन गरेको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको थियो । पछि जेल सजाय दुई वर्षमा घटाइएको थियो । उनीमाथि अरू कैयौं अभियोग पनि लगाइएको छ जसको निर्णय हुन बाँकी छ ।

‘हामी यस निर्णय बाट विचलित भएका छौं । छिमेकी लोकतान्त्रिक मुलुक भएको नाताले भारतले म्यानमारमा लोकतान्त्रिक प्रक्रियाको निरन्तर समर्थन गर्दै आएको छ । कानुनको शासन र लोकतान्त्रिक प्रक्रियाको समर्थन गर्नुपर्नेमा हामी विश्वास गर्दछौं ।’

यस सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले भने–‘यी प्रक्रियालाई कमजोर पार्नु र भिन्नतालाई बढावा दिनु भनेको चिन्ताको विषय हो । म्यानमारमा पनि भविष्यलाई ध्यानमा राखेर सबै पक्षहरूले वार्ताको बाटो अगाडि बढाउन प्रयास गर्नेमा हामीले विश्वास राखेका छौं ।’

उनले म्यानमारमा आङ साङ सुकी र अन्य विरुद्धको कारबाहीका बारेमा सोधेको प्रश्नको जवाफ दिएका हुन् । यस वर्ष फेब्रुअरी महिनाको १ तारिख मा म्यानमारमा सैन्य ‘कु’ गरी शासन सत्ता कब्जामा लिइएको थियो । त्यसपछि नेसनल लिग फर डेमोक्रेसीकी नेतृ सुकीको गिरफ्तारी भएको थियो । म्यानमारमा विद्रोहपछि व्यापक प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्