प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनद्वारा वार्षिक शिखर सम्मेलनको आयोजना



इन्डिया न्युज नेटवर्क ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सोमबार २१औँ भारत–रुस वार्षिक शिखर सम्मेलन आयोजना गरेका छन् । सो क्रममा तिनले द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षबारे छलफल गरेका छन् । दुई नेताले आपसी सरोकारका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू र महामारीपछि विश्वव्यापी आर्थिक सुधार र अफगानिस्तानको अवस्थाबारे पनि छलफल गरेका थिए ।

रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको २१औँ भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि सोमबार नयाँ दिल्लीको कार्यकक्ष भ्रमण गरेको विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रपति पुटिनको साथमा उच्चस्तरीय प्रतिनिधिमण्डल रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीचको द्विपक्षीय वार्ता न्यानो र मैत्रीपूर्ण वातावरणमा भएको पनि विज्ञप्तिमा उल्लेख छ । दुवै नेताले कोभिड महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद दुवै देशबीचको ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’मा दिगो प्रगति भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।

तिनीहरूले परराष्ट्र र रक्षामन्त्रीहरूको २+२ संवादको पहिलो बैठक र डिसेम्बर महिनाको ६ तारिखमा नयाँ दिल्लीमा आयोजित सैन्य र सैन्य–प्राविधिक सहयोगसम्बन्धी अन्तर–सरकारी आयोग बैठकको स्वागत गरेका छन् । विज्ञप्तिअनुसार नेताहरूले बृहत्तर आर्थिक सहयोगको आवश्यकतामा जोड दिएका छन् र यस सन्दर्भमा दीर्घकालीन पूर्वानुमान योग्य र दिगो आर्थिक सहयोगका लागि वृद्धिका नयाँ उपाय पहिचान गर्न जोड दिएका छन् ।

यसका साथै दुवै नेतृत्वले सफल आपसी लगानीको पनि स्वागत गरेका छन् । निकट भविष्यमा एकअर्काका देशहरूमा थप लगानी हुने अपेक्षा पनि तिनले गरेका छन् । अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर र प्रस्तावित चेन्नई–भ्लादिभोस्टोक पूर्वी समुद्री कोरिडोरमार्फत सम्पर्क स्थापना गर्न पनि दुई नेताबीच छलफल भएको छ । तिनले रुसका विभिन्न क्षेत्रहरू, विशेषगरी रुसी सुदूरपूर्व र भारतका राज्यहरूबीच अन्तर–क्षेत्रीय सहयोगलाई अझ बढाएर अगाडि बढाउने आशा राखेका छन् ।

विज्ञप्तिमा भनिएको छ–‘यसका साथै दुवै नेताले कोभिड महामारीविरुद्ध लडाइँमा जारी द्विपक्षीय सहयोगको प्रशंसा गरेका छन्, साथै आवश्यक परेको बेला दुवै देशले एक–अर्कालाई प्रदान गरेको मानवीय सहायताको पनि प्रशंसा गरेका छन् ।अफगानिस्तान मुद्दामा दुवै देशका साझा दृष्टिकोण र चासो साझा गर्न र अफगानिस्तानमा परामर्श र सहयोगका लागि एनएसए स्तरमा तयार पारिएको द्विपक्षीय रोडम्यापको दुवैले स्वागत गरेका छन् । विविध अन्तर्राष्ट्रिय मुद्दाहरूमा दुवै देशले साझा अडानहरू प्रस्तुत गरेको र संयुक्त राष्ट्र सुरक्षा परिषद्लगायत बहुपक्षीय मञ्चमा सहयोगलाई अझ बलियो बनाउन दुवै नेता सहमत भएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यता र सन् २०२१ मा ब्रिक्सको सफल अध्यक्षताका लागि राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । उता आर्कटिक परिषद्को निरन्तर अध्यक्षताका लागि प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई बधाई दिएका छन् ।

‘भारत–रुसः शान्ति, प्रगति र समृद्धिको लागि साझेदारी’ शीर्षकको संयुक्त वक्तव्यले राज्य र द्विपक्षीय सम्बन्धको सम्भावनालाई उपयुक्तरूपमा समेटेको छ । भ्रमणका क्रममा व्यापार, ऊर्जा, विज्ञान तथा प्रविधि, बौद्धिक सम्पदा, अन्तरिक्ष, भूगर्भ, अन्वेषण, सांस्कृतिक आदानप्रदान, शिक्षाजस्ता विभिन्न क्षेत्रका विभिन्न सरकारी सम्झौता तथा समझदारीका साथै दुवै देशका वाणिज्य तथा अन्य संस्थाबीच हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयले यसलाई द्विपक्षीय साझेदारीको बहुआयामिक प्रकृतिको प्रतिविम्बको रूपमा व्याख्या गरेको छ ।

यसैबीच, राष्ट्रपति पुटिनले सन् २०२२ मा हुने २२औं भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि प्रधानमन्त्री मोदीलाई रुस भ्रमणको निमन्त्रणा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्