गुल्मीमा चितुवा मृत भेटियो



गुल्मी ।

गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–५ आपँचौर तल्लाफाँटमा मृत चितुवा भेटिएको हो । मिमियाफाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानीयले देखेपछि प्रहरी कार्यालय मजुवा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालय सोतामा जानकारी गराएका थिए ।

उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन वन कार्यालय गुल्मीमा जानकारी गराएको थियो । डिभिजन वन कार्यालय गुल्मीबाट सहायक वन अधिकृत पंकजकुमार ठाकुरसहितको टोलीले घटनास्थल पुगी डिभिजन वन कार्यालय गुल्मीमा ल्याएको थियो । ६ फिट ४ इन्ज लामो करिब ३० केजीको चितुवालाई कार्यालय परिसरभित्र खाडल खनी व्यवस्थापन गरिएको छ ।

चितुवा २/३ दिनअघि मरेको हुन सक्ने डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताउनुभयो । वयश्क चितुवा के कारणले मरेको हो खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्