भारतको ५० प्रतिशत योग्य जनसंख्याले कोभिड –१९ को पूर्ण खोप लगाए



MJPS / Getty Images

इन्डिया न्युज नेटवर्क ।

भारतले आफ्नो कोभिड–१९ खोप अभियानमा ठूलो कोसेढुंगा पार गरेको छ । भारतको ५० प्रतिशत योग्य जनसंख्याले पूर्ण खोप लगाएका छन् । कोविन पोर्टलका अनुसार सोमबार अपराह्न ४ बजेसम्म १ अर्ब २८ करोड ५८ लाख ८९ हजार ७ सय ५६ खोप खुराक प्रदान गरिएको छ ।४८ करोड २३ लाख ५७ हजार ३ सय ४६ जनाले कोभिड–१९ खोपको दुवै खुराक प्राप्त गरेका छन् । तथ्यांकअनुसार ८० करोड ३५ लाख ३२ हजार ४ सय १० जनाले कोभिड–१९ खोपको पहिलो खुराक पाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा ऐतिहासिक उपलब्धिबारे जानकारी दिएका छन् । ‘भारतको खोप अभियानले अर्को महत्वपूर्ण कोसेढुंगा पार गर्‍यो । कोभिड–१९ विरुद्ध लडाइलाई बलियो बनाउन यो गतिलाई कायम राख्न महत्वपूर्ण छ । र मास्क लाउन र सामाजिक दुरी कायम राख्नुपर्छ ।’

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहान ७ बजेसम्मको अस्थायी रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा २४ लाख ५५ हजार ९ सय ११ जनाले खोप लगाएका छन् । यस वर्ष जनवरी महिनाको १६ तारिखबाट भारतले संसारको सबैभन्दा ठूलो कोभिड–१९ खोप अभियानको थालनी गरेको थियो । भारतको संक्रमण मुक्त दर ९८ दशमलव ३५% पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ३४ बिरामी निको भएसँगै निको भएका बिरामीको संख्या (महामारी शुरू भएदेखि) ३ करोड ४० लाख ६९ हजार ६ सय ८ पुगेको छ । यसका साथै राज्य तथा केन्द्र शासित प्रदेशको प्रयासका कारण लगातार १ सय ६२ दिन ५० हजारभन्दा कम नयाँ संक्रमित बिरामी थपिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ६ नयाँ संक्रमित बिरामी थपिएका छन् । यसका साथै भारतको सक्रिय सकरात्मक संख्या ९८ हजार ४ सय १६ पुगेको छ । यो संख्या देशको कुल सकरात्मक संख्याको शून्य दशमलव २८ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुल ८ लाख ८६ हजार २ सय ६३ वटा नमुना जो परीक्षण गरिएको छ ।

यसका साथै देशमा हालसम्म ६४ करोड ८२ लाखभन्दा बढी नमुना को परीक्षण गरिएको छ । साप्ताहिक सकरात्मक दर भने शून्य दशमलव ७८ प्रतिशत पुगेको छ जुन लगातार २२ दिन १ प्रतिशतभन्दा कममा कायम रहँदै आएको छ । दैनिक सकारात्मकता दर शून्य दशमलव ९४ प्रतिशत पुगेको छ । लगातार ६३ दिन दैनिक सकारात्मकता दर २ प्रतिशतभन्दा कममा कायम रहँदै आएको छ । र लगातार ९८ दिन यो दर ३ प्रतिशतभन्दा कममा कायम रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्