कांग्रेस भक्तपुरको सभापतिमा पुनः थापा



पुष्करराज बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेस भक्तपुरको जिल्ला अधिवेशनले वर्तमान पार्टी सभापति दुर्लभ थापालाई नै पुनः सभापतिमा निर्वाचित गरेको छ ।अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका थापाले प्रतिस्पर्धी नेता अष्टकुमार कबेंलाई १ सय १३ मतले पछि पार्नुभएको छ । थापाले ५ सय ५५ मत प्राप्त गर्नुभएको छ भने कबेले ४ सय ४२ मत प्राप्त गर्नुभयो ।

६ वर्षअघि पनि भक्तपुर जिल्ला सभापतिमा दोस्रो चरणमा थापा र कबेंबीच नै प्रतिस्पर्धा भएको थियो । कवे नेता प्रकाशमान सिंह निकट मानिनुहुन्छ । कार्यसमितिका पदाधिकारी तथा सदस्यमा पनि अधिकांश थापा प्यानलै विजयी भएको छ । उपसभापतिमा थापा प्यानलकै विजेश अवाल ५ सय २९ र उर्मिला वन ५ सय १४ मत पाएर विजयी हुनुभएको छ ।

सचिवमा सुशील बस्नेत ५ सय ५२ र राजेश खड्का ४ सय ८५ र सहसचिवमा यादव अधिकारी ५ सय ७४, कृष्णमुरारी न्यौपाने ५ सय १४ मत प्राप्त गरी प्रतिस्पर्धीलाई जित्न सफल हुनुभएको छ ।खुला सदस्यमा प्रेम खत्री, उमेशकुमार खड्का, धर्मरत्न खाइतु, रामबहादुर कासुला, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापा मगर, देवेन्द्र थापा श्रेष्ठ, राजेश मानन्धर, महिला सदस्यमा कल्पना लामिछाने, रजनी किसिजु, ललिता धिताल, रमिला कपाली निवाचित हुनुभएको छ ।

समानुपातिक आदिवासी जनजातिमा रामेश्वर ध्वजु, धनबहादुर थिङ, रामप्रसाद धौबन्जार, महिलामा रोशनी तामाङ, दिललक्ष्मी कायस्थ चयन हुनुभएको छ ।यसै गरी समानुपातिक खस आर्यमा देवेन्द्र न्यौपाने र अच्युत अधिकारी, सिर्जना केसी, दलित सदस्यमा मनिता नेपाली, मधेशी थारू मुस्लिममा रामदिनेश लाल कर्ण अल्पसंख्यकमा शशि बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आन्तरिक विवाद र तयारी नपुगेको भन्दै अधिवेशन दुई दिन स्थगित भएको थियो । यहाँ कांग्रेसको रोमाञ्चक पक्ष के रह्यो भने केन्द्रमा देउवा र देउवाइतर समूहका भनेर चिनिएका नेताहरू एकआपसमा क्रस समूहमा लाग्नुभयो ।देउवाइतर खेमाका रूपमा परिचित वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत र विदुरमानसिंह बस्नेत दुर्लभ थापाको साथमा रहनुभयो भने विगतदेखि नै देउवा समूहमा रहेका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, जिल्ला सचिव उद्धव सिलवाल भने कबे समूहमा ।

प्रतिक्रिया दिनुहोस्