कोरोना संक्रमितको संख्या घट्दै



काठमाडौं, (नेस) । 

देशभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ६ हजार ६ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको संख्या ८ लाख २० हजार ७ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ९५ हजार ४ सय ६८ पुगेको छ ।पछिल्लो समय थप ३ सय २५ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।

त्यसै गरी, पछिल्लो समय १ लाख १५ हजार ४ सय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ५६ रहेको छ । हाल होम आइसोलेसनमा ६ हजार ७ सय ६१, संस्थागत आइसोलेसनमा ३ सय ५९, सघन उपचार कक्षमा १ सय ७८ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्