नागरिकको घरदैलोमै सेवा दिँदै रेसुंगा



 गुल्मी ।

नागरिकलाई घरदैलोमै सेवा पु-याउने उद्देश्यले गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाले वडातहमै पुगी एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको छ । पालिकाको वडा नम्बर ६ मा अवस्थित साउनेथुम निम्न माध्यमिक विद्यालयमा एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको हो ।

‘रेसुंगा नगरपालिकाको नागरिकमैत्री सेवा प्रवाहको अभियान, घुम्ती शिविरबाट बहुसेवा प्रवाह तथा गुनासो व्यवस्थापन’ भन्ने नाराका साथ एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाका मेयर डिल्लीराज भुसालले नागरिकको घरदैलोमा सरकार आएकाले एकीकृत घुम्ती शिविरबाट अधिकतम सेवा लिन आग्रह गरेका छन् । नागरिकले नगरसम्म आएर सेवा लिन नसकेको महसुस गरी घरमै सेवा प्रवाह गरिएको उहाँको भनाइ छ ।

नगरपालिकादेखि भौगोलिकको हिसाबले टाढा रहेका नागरिकलाई लक्षित गर्दै नागरिकमैत्री सेवा प्रवाहको नगर प्रमुख भुसाल बताउनुहुन्छ । शिविरमा स्वास्थ्य जाँच तथा औषधि उपचार, कोभिड खोप वितरण, आँखा जाँच, सामाजिक सुरक्षा सेवाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र तथा अपांग परिचयपत्र नवीकरण तथा वितरण गरिएको थियो । कृषि विकासतर्फ माटो परीक्षण, बीउबिजन वितरण गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो ।

एकीकृत घुम्ती शिविरबाट २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने निःशुल्क औषधि पनि वितरण गरिएको थियो । २ सय ९६ जनाको आँखा परीक्षण गरिएको छ । जसमा १० जनाको तत्काल नै अप्रेसन गर्नुपर्ने देखिएको छ ।माटो परीक्षणका लागि १ सय ५५ जना कृषिकले ल्याएको माटो संकलन गरिएको थियो भने १ सय ५ जना कृषकलाई पशुको औषधि वितरण गरिएको थियो ।४० भन्दा बढी ज्येष्ठ नागरिक परिचयपत्र तथा ७ वटा अपांगता परिचयपत्र वितरण गरिएको थियो । शिविरमा नगरपालिकाका कर्मचारी, गुल्मी अस्पतालका स्वास्थ्यकर्मीहरु, नेत्र ज्योति संघ गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेतलगायतले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्