धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा



रामधन राई, खोटाङ ।

खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराह पोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिइएको छ । हरिबोधिनी एकासीको अवरमा बराह पोखरी गाउँपालिका–१ बराह पोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराह पोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको हो ।

नेपाल सरकारको सय वटा गन्तव्यको सूचिमा समावेश गरिएको बराह पोखरीमा आसपासका अधिकांश स्थानीय हरिबोधिनी एकादशीका दिन मेला भर्न र दर्शन गर्न जाने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको जनाइएको छ । बराह पोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा र जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले फरक–फरक समयमा सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ । दुई गाउँपालिकाले हरेक वर्ष हरिबोधिनी एकासीका बेला सार्वजनिक बिदा दिँदै आएको छ ।

हरिबोधिनी एकादशीमा बराह पोखरीमा लाग्ने मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । बराह पोखरीमा हरिबोधिनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ । बराह पोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । प्राकृतिक रुपले बनेको बराह पोखरीमा संसरकारकै दुर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्