चिनियाँ राष्ट्रपति सिले भावी राजनीतिक जग बलियो बनाउने



बेइजिङ, (एजेन्सी) ।

चिनियाँ नेता चि जिनपिङले यसै साता राजधानी बेइजिङमा हुने सर्व शक्तिशाली कम्युनिस्ट पार्टीका उच्च पदस्थ अधिकारीहरूको बैठकमा आफ्नो तेस्रो कार्यकालका लागि जग बलियो बनाउने अनुमान गरिएको छ ।

चीनको औपचारिक समाचार निकाय सिन्हवाका अनुसार राष्ट्रपति तथा पार्टीका महासचिव चिले सोमबार शुरू भएको केन्द्रीय समितिको महाअधिवेशनमा पार्टीका ‘प्रमुख उपलब्धि तथा ऐतिहासिक अनुभव’ माथि प्रस्तावना मस्यौदा जारी गरेका छन् ।

वरिष्ठ राजनीतिक विशलेषकहरूका अनुसार चीनको एक सय वर्ष लामो इतिकासमा यो पार्टीको तेस्रो अत्यन्तै महत्वपूर्ण प्रस्तावना हो । यसले सिको मान प्रतिष्ठा चीनको जनगणतन्त्रका संस्थापक माओ जेदोङ र आर्थिक क्रान्तिका सुत्रधार देङ जियाओपिङको समकक्षमा पुर्‍याएको जनाइएको छ ।

सन् २०१८ मा चीनमा राष्ट्रपतिको कार्यकाल सीमा हटाइएको थियो । जसले गर्दा सि आजीवन सत्तामा रहन सक्ने बलियो सम्भावना देखिएको थियो । आगामी वर्ष बस्ने पार्टीको पूर्ण बैठकले सिलाई पुनः पार्टी नेतामा नियुक्त गर्ने आशा गरिएको छ । कम्युनिस्ट पार्टीको यस्तो पूर्ण बैठक हरेक पाँच वर्षको एकपटक बस्ने गर्दछ ।

यस साताको केन्द्रीय समितिका करिब २ सय सदस्य सम्मिलित बैठक बिहिबारसम्म चल्ने र बैठकको अन्त्यमा विज्ञप्ति जारी गरिने बताइएको छ । चाइना युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लअन्तर्गतको स्कुल अफ पोलिटिकल साइन्स एन्ड पब्लिक एडमिनिस्ट्रेसनका प्राध्यापक यांग यांगका अनुसार सिले पार्टीको इतिहास सम्बन्धमा जारी गरेको विज्ञप्तिमा विदेशी हेपाहा प्रवृत्तिबाट चीन बाहिरिनु, चीनको आर्थिक उन्नति र चीन विश्वको महाशक्तिका रूपमा उदाइरहेको कुराहरू उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस्