नाचेकै कारण तीन सैनिक कारागार चलान



प्योङयोङ, (एजेन्सी) ।

उत्तर कोरियाको एक समूह सेनालाई सांगीतिक समूह बीटीएसको शैलीमा नाचेको कारण राजनीतिक बन्दी शिविरमा पठाइएको छ । डेली एनकेका अनुसार गत ५ अगस्टमा कोरियन पिपुल्स आर्मी एयर र एन्टी एयर फोर्स कमान्ड युनिटका तीन जना सैनिकलाई विश्वप्रसिद्ध के –पप समूह बीटीएसको हिट गीत ‘ब्लड, स्विेट एन्ड टियर्ज’ को बिटमा नाचिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो ।

करिब २० वर्ष उमेरका ती तीनैजना माउन्ट बाएक्दुको भ्रमण गर्न उत्तर कोरियाली राजधानी प्योंगयांगबाट ट्रेन चढेर ह्येसानतर्फ यात्रा गरिरहेका बेला गिरफतारीमा परेका थिए । तर, अचानक विद्युत् आपूर्ति बन्द भएकाले तिनीहरू चढेको ट्रेन साउथ हामग्योंग प्रान्तको सोखु स्टेसनमा रोकिएको थियो ।

ट्रेन नचलुन्जेल तिनीहरूले समय काट्ने क्रममा त्यसरी नाचेका थिए । उच्च पदस्थ तीनजना सैनिक अधिकारीले सो दृश्य देख्नासाथ तिनीहरूलाई हिरासतमा लिएका थिए । तिनीहरूविरुद्ध दक्षिण कोरियाको साउथ चोसुनको सो भ्रष्ट नृत्यको नक्कल गरेको आरोप लगाइएको छ । तिनीहरू देशभक्त शहीदहरूको क्रान्तिकारी भावना र जोश सिक्न बोएक्दुतर्फ जाँदै थिए । काएचोन राजनीतिक कारागार शिविरमा पठाइएका तिनीहरूले कम्तिमा ६ महिना लामो श्रमदानसहितको संजाय भोग्नुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्