मोदी र बिल गेट्सबीच जलवायु परिवर्तन न्यूनीकरणमाथि छलफल



इन्डिया न्युज नेटवर्क ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिल गेट्सबीच द्विपक्षीय बैठक मंगलबार सम्पन्न भएको छ । जसमा दुवैले जलवायु परिवर्तन न्यूनीकरण गर्ने उपायबारे छलफल गरेका थिए । बेलायतको ग्लास्गोमा आयोजित कोप २६ शिखर सम्मेलनको पृष्ठभूमिमा दुई व्यक्तित्व बीच भेट भएको थियो ।

विदेश मन्त्रालयका अनुसार हरित ऊर्जा, हवाई इन्धन, ब्याट्री भण्डारण र खोप अनुसन्धानजस्ता क्षेत्रमा आशाजनक र सकारात्मक छलफल भएको थियो । विदेश मन्त्रालयका अनुसार भारतमा बिल र मेलिन्डा गेट्स फाउन्डेसनले गरिरहेको कामको प्रधानमन्त्री मोदीले प्रशंसा गरेका थिए ।

बिल गेट्सले प्रधानमन्त्रीलाई नवाचार अभियानमा भएको प्रगतिबारे जानकारी गराएका थिए । दुवैले नवाचार अभियानअन्तर्गत भारतमा गतिविधि बढाउने तरिकाबारे पनि छलफल गरेका थिए । यस सन्दर्भमा प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन् ‘कोप–२६ शिखर सम्मेलन मा बिलगेट्ससँग भेट । हामीले जलवायु परिवर्तनलाई जित्न विश्वव्यापी प्रयासहरूलाई बलियो बनाउने उपायहरूसहित विभिन्न विषयहरूमा छलफल गर्‍यौँ ।’

यस सन्दर्भमा बिल गेट्सले पनि ट्वीटरमा लेखेका छन्, ‘कोप२६ पृष्ठभूमिमा प्रधानमन्त्री नरेन्द्रमोदी सँग छलफल । विज्ञान, नवीनता र परिवर्तनकारी कृषिमा थप लगानी गर्न र साना किसानमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने उपायबारे छलफल । पीएमओइन्डिया एनस्टोमार ।’

प्रतिक्रिया दिनुहोस्