सैनिक अस्पतालमा हमला, २० जना मारिए



काबुल, (एजेन्सी) ।

अफगानिस्तानको राजधानी काबुलस्थित एउटा सैनिक अस्पतालमा बुधबार बन्दुक र बमबाट आक्रमण गरिँदा २० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै कम्तिमा १६ जना घाइते भएका छन् । सञ्चार–माध्यम र सरकारी अधिकारीहरूका अनुसार चार सय शय्याको सरदार दाउद खान अस्पतालमा ती अज्ञात बन्दुकधारी समूहले अन्धाधुन्ध गोली चलाउनुका साथै दुईवटा शक्तिशाली बम विस्फोट गराएका थिए ।

तिनीहरू जबर्जस्ती अस्पताल परिसरमा प्रवेश गरेका थिए । पछि इस्लामिक स्टेट समूहसँग आबद्ध आईएस–के नामक समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो । काबुलबाट सार्वजनिक भएका तस्वीर र भिडियो फुटेजहरूमा अस्पताल भवनबाट आगो र धुवाँको मुस्लो निस्किरहेको देखिन्छ ।

तालिवान प्रवक्ता विलाल कारिमीले सो समूहले अस्पतालभित्र छिर्नुअघि मूलद्वारमा विष्फोट तालिवान लडाकुले चार जना आक्रमणकारीलाई मारेको तथा एकजनालाई जीवित पक्राउ गरेको बीबीसीलाई बताएका छन् । गत अगस्टमा सत्ता कब्जा गरेका तालिवानविरुद्ध भएको यो पछिल्लो हमला हो । ‘आईएस–के’ ले इस्लामिक स्टेट खोरासान भन्ने जनाउँछ ।

अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजले अफगान भूमि छाडेपछि तालिवनले सत्ता कब्जा गरेको थियो । तालिवानले मुलुकलाई इस्लामिक इमिरेट्स घोषणा गर्दै इस्लामिक कानुन सरियात लागू गरेको थियो । साथै, अमेरिकालगायत युरोपका अन्य बैंकले पनि अफगान सरकारले जम्मा गरेको अर्बौं अमेरिकी डलर रोक्का गरेको थियो ।

तर, महिलालाई शिक्षा नदिने र बुर्का लगाउनै पर्ने जस्ता सन् १९९६ देखि २००१ सम्म सत्ता चलाउने बेला तालिवानले अपनाएको नीतिलाई यसपालि पनि निरन्तरता दिइन सक्ने भएकाले पश्चिमी जगत्ले तालिवान सरकारको आलोचना गरेको थियो ।

तर, पछिल्लो समयमा तालिवानले लचकता अपनाउँदै महिला तथा बालिकाहरूको शिक्षामाथिको पहुँचमा अंकुश नलगाउने जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्