चीनमा विद्यार्थीको गृहकार्य घटाउने कानुन



बेइजिङ, (एजेन्सी) ।

विद्यालयको पढाइपछि विद्यार्थीहरूलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले चीन सरकारले शिक्षासम्बन्धी कानुन पारित गरेको सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ । साथै सरकारी निकायले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूका लागि आराम र व्यायाम गर्न यथेष्ट समय रहे नरहेको सुनिश्चित गर्न र तिनीहरूलाई अनलाइन अध्ययनमा धेरै समय बिताउन नदिन निर्देशन पनि दिएको छ ।

गत अगस्टमा मात्र चीनले छ र सात वर्ष उमेरका बालबालिकाको लिखित परीक्षामाथि प्रतिबन्ध लगाएको थियो । सरकारी अधिकारीहरूले त्यतिबेला लिखित परीक्षाका कारण बालबालिकाको शारीरिक र मानसिक स्वास्थमा हानी भइरहेको दाबी गरेका थिए । गत वर्ष चीन सरकारले ती कलिला बालबालिकाहरूको इन्टरनेट र अन्य लोकप्रिय संस्कृतिप्रतिको लत नियन्त्रणका लागि थुप्रै उपायहरू अपनाएको थियो ।

शिक्षासम्बन्धी यस नयाँ विधेयक शनिबार राष्ट्रिय जन कंग्रेसको स्थायी समिति र मुलुकको स्थायी विधानसभाले पारित गरेका थिए । तर, कानुनको विस्तृतस्वरूप अझै सार्वजनिक भइसकेको छैन । चिनियाँ सञ्चार माध्यमले भने यस कानुनले अभिभावकहरूलाई आफ्ना सन्तानको नैतिकता, बौद्धिक विकास र सामाजिक बानी ब्यहोरा हुर्काउन प्रोत्साहित गर्ने जनाएको छ ।

स्थानीय सरकारलाई यस कानुनको कार्यान्वयनको जिम्मेवारी दिइने बताइएको छ । स्थानीय सरकारले यसका लागि अतिरिक्त क्रियाकलापहरूलाई जोड दिन आवश्यक रकमको व्यवस्था गर्नुपर्ने बताइएको छ । नयाँ कानुनले शिक्षा क्षेत्रमा विदेशी लगानी र तथा प्राइभेट ट्युसनलाई पनि रोक लगाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्