तिहार नजिकिएसँगै कुमालेलाई पाला बनाउन भ्याई नभ्याई



पुष्कर बुढाथोकी, भक्तपुर ।

तिहार नजिकिए पछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दिपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याई नभ्याई भएको छ ।

माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सुर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिहरुलाई भ्याई नभ्याई भएको हो ।भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाण्डौ, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखा लगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ ।तर यसवर्ष पनि कोभिड संक्रमणका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ हरेक बर्ष व्यापारीले तिहार अघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन् । तिहार नजिकिदै गएको र अर्डर अनुसारको पाला, धूपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याई नभ्याई भएको भक्तपुर नगरपालिका १२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताउनुभयो ।

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ। पाला बनाउने प्रजापतिको संख्या घटेपछि पेशा अंगाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याई नभ्याई भएको हो ।पछिल्लो समय तिहारमा बत्ति बाल्नकै लागि विद्युत बत्तीको माग समेत उच्च हुने गरेको छ तर तिहारमा बिजुलीका रंगीचंगी बात्ती बालेर झिलीमिली पार्ने गरेपनि अनिर्वाय रुपमा दियो पनि बाल्नु पर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरु बताउँछन् ।केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिएपनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउनुहुन्छ ।

विभिन्न आधुनिक विद्युतिय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो ।कुमालेहरुले तयार भएको पाला होलसेल व्यापारीहरुलाई बिक्री गरिन्छ । होलसेल व्यापारीहरुले एउटा पालाको एकदेखी दुई रुपैंयाँमा हजारौंको संख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरु माझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो ।

कोरोना संक्रमण,माटोको अभाव र प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगका कारण यो पेशा संकटमा परेको कुमालेहरुले गुनासो गरेका छन् । परम्परागत रुपमा काठ तथा गाडिको टायरबाट बनेको गोलो चक्र्रबाट माटोको भाँडा बनाउँदै आएका जिल्लाका कुमालेहरुलाइ आधुनिक बिद्युतीय मेशिनले काममा छिटो र सजिलो भने पारिदिएको बुद्धिराम प्रजापतिले बताउनुभयो ।भक्तपुर र थिमीमा झण्डै तीनसय भन्दा बढी घरपरिवार कुमाले माटोको भाडा बनाएदै आएकोमा अहिले विस्थापित हुदै करिब १५० घरपरिवारमा सिमित भएका छन् । युवा पुस्तामा यसतर्फको आकर्षण घट्दै जानु र पुराना पुस्ताले मात्र यो पेशा धान्नुपर्ने अवस्थाले थप समस्या पारेको छ ।

माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताउनुभयो । माटो नपाएकै कारण अबको आठ-दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना देखिएको उहाँको भनाइ छ। आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिँदा सजिलो भएको छ। तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप हुने चिन्ता भने कुमालेमा उत्तिकै छ।

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरा लगायतको माग बढ्ने र अरु बेलामा माटोको भाडाको माग कम हुने भएपछि यो पेशाबाट बिस्थापित हुन थालेपछि माटोको भाडाको उत्पादन समेत कम भएको छ ।भक्तपुरमा उत्पादन गरेको पाला उपत्यका लगायत काभ्रेको बनेपा, धुलीखेल, पनौती, धादिङ, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौंडा, चितवनका व्यापारीहरुले समेत लिन आउने गरेको रामप्रसादले जानकारी दिनुभयो ।तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीय सुजन प्रजापतिले बिगतमा भूकम्पले पनि यो पेशालाई विस्थापति गरेको बताउनुभयो । बुद्धिराम प्रजापतिले यो पेशाबाट वर्षभरी गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाईएपछि टाढाबाट किनेर ल्याउनु परेकाले यो व्यबसाय नै संकटमा परेको बताउनुभयो ।

प्रजापति समुदायले अंगाल्दै आएको यो पेशा निकै पुरानो हो। उचित बजार ब्यबस्थापन ,प्रचारप्रसार , तालिम र राहत नपाएकाले युवावर्ग चाहेर पनि यस पेशा तर्फ आकर्षित हुन नसकेको ब्यवसायी बताउँछन् ।विश्व मै चर्चामा रहेको र नेपाल आउने पर्यटकको आकर्षणको केन्द्र रहेको छ कुमालेको माटोको भाडा बनाउने पेशा ।दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम पनि बढेको छ ।सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्