कलाकर्मीले बाँडे दसैंको शुभकामना



नेपाल चलचित्र कलाकार संघले मंगलबार राजधानीमा बडादसैँ, तिहार, छठ र नेपाल संवत्को शुभकामना आदान प्रदान, नवदुर्गा भवानीको प्रसाद ग्रहण तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

संघले केही वर्षदेखि एकंआपसमा आत्मीयताका साथ आफन्तको अनुभूति गराउने र कलाकारका बीच एक अर्काप्रति सद्भाव सदाचार एवं भाइचारा बढाउन यस प्रकारको कार्यक्रम थालनी गरेको संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी गराए। खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले स्वागत भाषण र संघका कोषाध्यक्ष सुनील कटुवालले धन्यवादज्ञापन गरेका थिए।

कार्यक्रममा संघका सल्लाहकार एवं चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल, बोर्डका पूर्वअध्यक्ष एवं संघका मानार्थ सदस्य राजकुमार राई, पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अभिनेता पुरन जोशी, आरपी पन्त, लव शर्मा, विक्रान्त बस्नेत, नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान, उपमहासचिव गोपालकाजी कायस्थ, नेपाल नृत्य संघका कार्यवाहक अध्यक्ष जनक कार्की, जनजाती चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नृत्य निर्देशक संघका उपाध्यक्ष प्रदीप श्रेष्ठ, फिल्मकर्मी लय संग्रौला, पहिलो नेपाल भाषाको फिल्म सिलुका नायक जय श्रेष्ठ, संघका जेष्ठ सदस्य पदमप्रसाद पौडेल, लक्ष्मण विक्रम बस्नेत, वसन्त खत्री, नेपाल सांस्कृतिक संघका अध्यक्ष तथा संघका मानार्थ सदस्य तीर्थ थापा, महासचिव शिवशंकर रिजाललगायतले यस प्रकारको कार्यक्रमले आपसी सम्बन्ध सुदृढ बनाउने चर्चा गरे।

कार्यक्रममा फिल्मकर्मीहरुले संघका जेष्ठ सदस्य ८६ वर्षीय वृद्ध कलाकार पदमप्रसाद पौडेलबाट दुर्गा भवानीको प्रसाद र अक्षता ग्रहण गरेका थिए भने संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले चण्डीका मन्त्र र स्तोत्र पाठ गरेका थिए। संघका कार्यकारी सदस्य गोपाल ढकाल ञछन्देुद्वारा सञ्चालित कार्यक्रममा प्रसाद अक्षता ग्रहणसँगै चलचित्र जाँच समितिका सदस्य तथा संघका कार्यसमितिका सदस्य राजेश महर्जनले प्रति व्यक्ति ३३ रुपैयाँ दक्षिणा प्रदान गरेका थिए भने प्रायः फिल्मकर्मीले दक्षिणामा रकम थप गरी संघलाई सहयोगस्वरुप हस्तान्तरण गरेका थिए।

कार्यक्रममा संघका अध्यक्ष रवीन्द्र खडकाले यसप्रकारको कार्यक्रमले एकताको सन्देश प्रवाह हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्