सेती नदीमा पानीको बहाब खतराको सुचीमा, सतर्क रहन आग्रह



विमल विष्ट, डोटी ।

जिल्ला सदरमुकाम सिलगढी सहित यहाँका दुइ जिल्ला अछाम तथा बाजुरा जोड्न कम्तीमा पनि तीस वर्ष पहिले कोरियल सरकारको सहयोगमा निर्माण गरिएको सेती नदी माथीको मोटर पुल खतरमा परेको छ ।

तीन दिनदेखिको लगातारका वर्षातका कारण नदीमा पानीको बहाब एकाएक बढेपछि उक्त पुल खतरामा परेको हो । तीन दिनदेखिको लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

सेती नदीमा अत्याधिक बाढी आएका कारण उक्त बाढी पुलमाथी पुग्न थलेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी चन्द्रु पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सृजना भएको छ ।” बाढीले पुल छोएपछि अहिले बिहानदेखि उक्त पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले पुल छोएको त पुलनै खतरामा पर्ने देखिकाले सवारी आवागमन बन्द गरेका छौँ ।”

पुलमा आवत जावत बन्द गरिएपछि तराइँबाट डोटीको जिल्ला सदरमुकाम सिलगढी लगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानकालागि आएका दजर्नौँ सवारी साधन अहिले यहाँको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ । सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्ति समेत डुवानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “सेतीमा निकै ठूलो बाढी आएको छ, बाढी पुलबजारका पसल तथा घरहरुमा समेत पसेको छ, हामी रातभरी सुत्न पाएका छैनौँ ।”

जिल्लामा अहिले पनि भारी वर्षात भइरहेको छ । वर्षातका कारण सोमबार दिउँसोदेखि जिल्लामा बिद्युत सेवा पनि अवरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण दिपायलका भरतबहादुर द्धारियाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पहाडी जिल्लामा बितरण गरिएको ३३ केभिए प्रशारण लाइनमा रुख परेका कारण बिद्युत सेवा अवरुद्ध भएको हो । अवरुद्ध बिद्युत सेवा सुचारुका लागि कर्मचारी परिचालन गरिएका भएपनि वर्षा नरोकिएका कारण मर्मत गर्न सकिएको छैन् । डोटीको गोपघाट र दिपायल स्थित समुहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो ।

केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको शिखर नगरपालिका–२ कालागाढका स्थानीय तेजबहादुर बोगटीले जानकारी दिनुभयो । सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसिद बनेका छन् । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षापनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेषगरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै ठाउँमा बाढी आएको छ, विषेश गरी सेती नदीमा पानीको बहाब अधिक भएकाले नदी आसपास बस्ती भएका नागरिकलाई सर्तक रहन आग्रह गरेका छौँ ।”

लगातारको वर्षातका कारण बाढीपहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको समेत प्रजिअ विष्टले जानकारी दिनुभयो । यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विपद् तथा नदीबाट हुने खतराबाट जोगिन चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका सह–प्रबक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षात शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थाका भएका छन् । उता जिल्लाको जोरायलमा रहेको कर्नासो नदी तथा बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीका कारण अहिले सम्म भने जिल्लामा मानविय क्षेती नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्