भिमसेन मन्दिर पुनः निर्माणका अगुवा महर्जनलाई पितृशोक



न्युज अफ नेपाल, ललितपुर ।

विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित भिमसेन मन्दिर पुनःनिर्माणका अगुवा एवं उद्यमी कृष्णलाल महर्जनलाई पितृशोक परेको छ ।

ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका महर्जनका पिता रत्नलाल महर्जन (नायचा)को आईतबार बिहान ८ः ४० मा सानेपास्थित स्टार हस्पिटलमा निधन भएको थियो।

८२ वर्षीय महर्जनको फोक्सोमा देखिएको समस्याको उपचार गराउने क्रममा निधन भएको थियो। गत बैशाखमा कोरोना संक्रमित हुनुभएका महर्जन संक्रमणबाट मुक्त भएपनि फोक्सोमा केही समस्या देखिएको थियो । स्वर्गीय महर्जन १० वर्षदेखि मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय महर्जनको सोही दिन दिउँसो शंखमुलस्थित घाटमा नेवारी परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।

उहाँको पार्थिव शरीरमा ज्येष्ठ सुपत्रको हिसाबले निर्वतमान अध्यक्ष महर्जनले दागबती दिनुभएको थियो । स्वर्गीय महर्जनप्रति अन्तिम श्रद्धाञ्जली दिन उद्यमी व्यवसायी, भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरु शंखमुल पुगेका थिए ।

स्वर्गीय महर्जनका पत्नी लक्ष्मीमाया महर्जन, छोरा कृष्णलाल महर्जनसहित सुनीललाल महर्जन, सुशील महर्जन र सुमन महर्जन र छोरीहरु नानीमाया महर्जन, लक्ष्मीदेवी महर्जन, मैया महर्जन रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्