बागमती प्रदेशमा बढ्यो सवारी भाडा



हेटौंडा ।

भाडा समायोजनको माग गर्दै हेटौंडामा यातायात व्यवसायी आन्दोलनमा उत्रिएकै दिन बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनमा कात्तिक १ गतेदेखि लागु हुने गरी २३ प्रतिशतले भाडावृद्धि गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातसाधनमा पाँच किलोमिटर दुरीसम्मको भाडा १८ रुपियाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपियाँ, १५ किलोमिटरसम्म २७ रुपियाँ, २० किलोमिटरसम्म ३० रुपियाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपियाँ कायम गरिएको छ ।भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपियाँका दरले सरसामान वा गुन्टा साथमा लैजान पाउने जनाइएको छ । उक्त भाडादरमा डिलक्स सुविधासहितको सेवा प्रदान गर्ने सवारीसाधनहरुले बीस प्रतिशतसम्म भाडा थप लिनसक्नेछन् ।

यातायात व्यवसायीले बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको परिसरमा बुधबार धर्ना दिएका थिए । भाडा समायोजनको विषयलाई लिएर सार्वजनिक यातायात महासंघ बागमती प्रदेशको राजधानी हेटौंडामा धर्नामा बसेको हो ।प्रदेशमा तुरुन्त भाडा समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल धर्नामा बसेको हो । हेटौंडा–१, चौकीटोलस्थित बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा धर्नामा बसेका व्यवसायीले भाडादर समायोजन तथा यातायातको समग्र समस्या समाधान गर्न उच्चस्तरीय आयोग-प्राधिकरण तत्काल गठन गर्न दबाब दिएका थिए ।

नेपाल सरकार, भौतिक पूर्वाधार यातायात मन्त्रालयको असार २७ को मन्त्रिस्तरीय निर्णयानुसार यातायात व्यवस्था विभागबाट असार २९ गते लामो तथा मध्यम (अन्तर प्रदेश) रुटको भाडा समायोजन गरिएको र प्रदेशभित्र सञ्चालन हुने स्थानीय र छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन हुनुपर्ने कानुनी प्रावधान छ ।

यस सम्बन्धमा यातायात व्यवसायी संघसंगठनको मागप्रति संवेदनशील रही उपभोक्ताको हितसमेतलाई मध्यनजर गर्दै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘प्रदेश भाडा निर्धारण-समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावलीको प्रावधानअनुसार गठन गरिएको भाडादर निर्धारण÷समायोजन समितिको प्रतिवेदनपछि भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्