जाजरकोटमा सामुदायिक खाद्य बैंक स्थापना



वासुदेव शर्मा, जाजरकोट ।

बारेकोट गाउँपालिकामा सामुदायिक खाद्य बैंक स्थापना भएको छ । गाउँपालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सामुदायिक खाद्य बैंक सञ्चालनमा ल्याएको हो ।

बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह र विश्व खाद्य कार्यक्रका फिल्ड संयोजक कृष्ण थापाले सामुदायिक खाद्य बैंक भण्डारण गरेर तीन परिवारलाई खाद्यन्न वितरण गरी बैंकको शुभारम्भ गरेका थिए । बाढी–पहिरो, कोरोना कहरले थिलोथिलो परेका, विपन्न, जोखिममा रहेका नागरिकहरुलाई भोकबाट बचाउन खाद्य बैंक स्थापना गरिएको अधिकृत सिंहले बताउनुभयो । जोखिममा रहेका नागरिकसँग आर्थिक अवस्था कमजोर भएकाले २ सय ५० किलो खाद्यान्न संकलन गरी वितरण शुरू गरिएको हो ।

खाद्यन्न भण्डारणका लागि विश्व खाद्य कार्यक्रमले चारकोठे पक्की भवन निर्माण गरेको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण थापाले बताउनुभयो । केही दिनभित्रै ४ सय ५० क्विन्टल चामल मौज्दात गर्ने उहाँको कथन छ । विश्वमा फैलिएको कोरोना कहर, प्राकृतिक प्रकोपका कारण जोखिमको समस्याबाट उत्पन्न असुरक्षाको अवस्थालाई तत्काल समाधन गर्न खाद्य असुरक्षाको जोखिममा रहेका विपन्न, दलित, जनजाति, एकल महिला, जोखिममा रहेका नागरिकलाई नेपालको संविधानले प्रदान गरेको खाद्य अधिकारलाई सम्बोधन गर्ने गरी बारेकोट गाउँपालिकामा सामुदायिक खाद्य बैंक स्थापना गरेको हो । बारेकोट गाउँपालिकाका मोतीलाल कामी, मीन कामी र पशुपति रोकायलाई बैंकबाट प्रतिपरिवार ३० किलोका दरले खाद्य सहयोग गरेको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक थापाले बताउनुभयो ।

खाद्य बैंकको दिगो सञ्चालन व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाको गाउँ कार्यपालिकाले सामुदायिक खाद्य बैंक स्थापना, सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७८ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सिहले बताउनुभयो ।

बारेकोट गाउँपालिकामा स्थापना भएको सामुदायिक खाद्य बैंकलाई व्यवस्थापन गर्न व्यक्तिगत चन्दादाता, संस्थागत चन्दादातासँग सहयोगका लागि अपिल गर्ने, सामुदायिक खाद्य बैंकलाई निरन्तरता दिनका लागि गाउँपालिकाले वार्षिकरूपमा बजेट व्यपस्थापन गरी बैंकलाई निरन्तरता दिने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

प्राकृतिक विपद्का कारण हुने खाद्य असुरक्षाको अवस्थालाई तत्काल समाधन गर्न सकिने भएकाले गाउँपालिकाले सामुदायिक खाद्य बैंकको अवधारण ल्याएको हो । बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खसेको पहिरोले यातायत अवरुद्ध छ । भौगोलिक विकटता यातायातको सहज पहुँच नभएको पालिकामा सामुदायिक खाद्य बैंक स्थापना भएपछि नागरिकलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्