ललितपुर महानगरपालिकाका विद्यालय असोज १ गतेदेखि खुल्ने

विद्यालयको लागि मास्क र सेनिटाइजर उपलब्ध



न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयको लागि मास्क र सेनिटाइजर उपलब्ध गराउने भएको छ । महानगर शिक्षा महाशाखाले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेसँगै सामुदायिक विद्यालयको हकमा आवश्यकता र मागको आधारमा स्वाथ्य समाग्रि प्रदान गर्ने जनाएको हो ।

महानगरको नगर शिक्षा समितिको सोमबार बसेको बैठकले सो निर्णय महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरी स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई दिने निर्णय गरेको बताउनुभयो ।

विद्यालयले विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ ले निर्धारण गरेका सम्पूर्ण प्रक्रियाहरु अवलम्बन गर्दै आफ्नो विद्यालयको भौतिक, शैक्षिक अवस्था अनुसार कार्य योजना तयार गरी असोज १ गतेबाट पठनपाठन सम्वन्धी कार्य सञ्चालन गर्न विद्यालयहरुलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्वन्धमा अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरुलाई विद्यालयले अभिमुखीकरण गराई सो को जानकारी महानगरपालिकामा पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्