विश्वकर्माले दिए राजीनामा



काठमाडौं ।

निर्वाचन निर्देशिकाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिनुभएको छ । दलित संघका केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्माले मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्नेगरी निर्वाचन निर्देशिका जारी भएको भन्दै आफूले दुवै पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

उहाँले पार्टी सभापति शेरवहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई राजीनामाबारे फोनबाट जानकारी गराउँदै पार्टी केन्द्रीय कार्यालयमा राजीनामापत्र बुझाएको बताउनुभएको छ । राजीनामाबारे नेपाल समाचारपत्रसँग कुरा गर्दै विश्वकर्माले भन्नुभयो– ‘फोनमा सभापति देउवाले तपाईंले उठाउनुभएको विषय गम्भीर रहेछ, बसेर छलफल गरौंला भन्नुभएको छ ।’

कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शून्य हुने देखिएको भन्दै राजीनामापत्रमा विश्वकर्माले भन्नुभएको छ– ‘दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन । यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समयपश्चात नै शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको जिम्मेवार सदस्य र नेपाल दलित संघको पनि केन्द्रीय अध्यक्ष हुनु नाताले त्रुटिपूर्ण, अन्याय र अव्यवहारिक नीति नियम लागु हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रूपले मिल्दैन ।’ उहाँले सोमबारकै मितिदेखि लागू हुने गरी दुवै पदबाट राजीनामा गरेको जनाउनुभएको छ ।

कांग्रेस नेता विश्वकर्माले विधानको गलत व्याख्या गर्दै बनाइएको निर्वाचन निर्देशिका असमावेशी र जालझेलपूर्ण तरिकाले बिना छलफल लागू गरिएको भन्दै राजीनामापत्रमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेता विश्वकर्माले त्रुटि नसच्चिए पार्टी सकिने चेतावनी पनि दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्