मकवानपुरमा १० हजार कार्यकर्ता सहभागी हुने



नेपाल समाचारपत्र, हेटौंडा ।

वागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा शुक्रबार हुने नेपाली कांग्रेसको वडा अधिवेशनका लागि मतदान अधिकृतले धमाधम तयारी गरिरहेका छन् । जिल्लाका सबै १ सय २ वडामा निर्वाचन अधिकृत मनोनयन गर्ने र तोकिएकै समयमा अधिवेशन सफल बनाउन गृहकार्य भइरहेको निर्वाचन अधिकृत गोपी शर्मासुबेदीले जानकारी गराउनुभयो ।

जिल्लाका पार्टी सभापतिलगायत पार्टी कार्यकर्तासँग अधिवेशनको तयारी गरिरहेको उहाँले बताउनुभयो । ‘तयारीमा जुटेका छौं । सभ्य किसिमले र कोरोना महामारीको जोखिमलाई ख्याल राख्दै स्वास्थ्य मापदण्डको उचित पालना गरी अघि बढ्छौं’ –उहाँले भन्नुभयो ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा जिल्लामा अधिकांश नेता/कार्यकर्ता गाउँमा भेटघाटमा जुटेका छन् । साढे ९ हजार भन्दा बढी क्रियाशील रहेको जिल्लामा १ सय २ वडामा अधिवेशन गर्ने तयारी छ ।

नगरपालिकादेखि गाउँपालिकासम्म अधिवेशनको चहलपहल पुगेको छ । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाका अनुसार क्रियाशील सदस्य छान्ने क्रममा सामान्य विवाद भएको थियो । तर, पार्टीका कार्यकर्ता मिलेर त्यसको समाधानमा लागिएको कोइरालाले बताउनुभयो । पार्टीको मर्म बुझ्ने नेतृत्व अबको वडा तहका अधिवेशनबाट आउनुपर्ने उहाँले सुझाउनुभयो ।

मकवानपुरमा जिल्ला पार्टी सभापति तथा वागमती प्रदेशका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ पार्टी विवाद टुङ्ग्याउन सफल हुनुभएको छ । हाल उहाँलगायत पार्टी कार्यकर्ता चुनाबी चहलपहलमा छन् ।

नेपाली कांग्रेस मकवानपुर सचिव बुद्ध लामाका अनुसार राजनीतिक दृष्टिले बुझेका नेतृत्व आउनु जरुरी छ । लामा भन्नुहुन्छ–‘कांग्रेसको विचार बोकेका र आदर्श अध्ययन गरेकाहरूका लागि यो एउटा सुवर्ण अवसर हो । वडा अधिवेशनबाट नयाँ जिम्मेवारी पाउनुपर्छ । नया“ पुस्ताले हालको नेतृत्व हाँक्न सक्नुपर्छ ।

संगठनलाई मजबुत गराउने र कुनै प्रलोभनमा नपर्नेमा चनाखो हुनुपर्ने उहाँको भनाइ छ । जिल्लादेखि केन्द्रसम्मका प्रतिनिधि चुन्न पाइने भएकाले वडा अधिवेशनले कांग्रेसको भविष्य बोकेको उहाँ बताउनुहुन्छ ।

वडा अधिवेशनबाट छानिने नेतृत्व कांग्रेसलाई पत्याउने हुनुपर्नेमा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले बताउनुभयो । पछिल्लो समय पार्टीभित्र देखिएका बेथिति अन्त्य गर्नु प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ ।

‘गलत क्रियाकलाप निरुत्साहित पार्ने नेता वडा अधिवेशनमा चुनिनुपर्छ,’ उहाँ भन्नुहुन्छ–‘हिजो नेपाली कांग्रेस प्रतिपक्षमा थियो । हाल पार्टी सत्तामा छ । यो परिवर्तित परिस्थितिले त्यसको जिम्मेवारी बढाएको छ । यस्ता परिस्थिति बुझ्ने नेतृत्व आवश्यक छ ।’

वडामा १ सय ५० भन्दामुनि क्रियाशील सदस्य छन् भने त्यहाँबाट १६ जना अधिवेशनमा चुनिनेछन् । १ सय ५० भन्दामाथि रहेका वडाबाट २२ जना र त्यसमाथि छन् भने प्र्रत्येक १ सयको संख्यामा ६/६ जनासम्म वडा सदस्यहरू थपिँदै जानेछन् । मकवानपुरको अवस्थामा १६ देखि ३८ र ४६ सम्म एउटै वडाबाट चुनिनेछन् ।

प्रतिक्रिया दिनुहोस्