मोबाइल बैंकिङभन्दा एटीएम प्रयोगकर्ता कम



नेपाल समाचारपत्र, काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्‍याउने ग्राहकको संख्या क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको वित्तीय पहुँचसम्बन्धी अध्ययनमा यस्तो देखिएको हो ।

वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले प्रतिशाखा ग्राहक संख्या घटेको केन्द्रीय बैंकको निश्कर्ष रहेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या गत चैत मसान्तमा ५,९७८ पुगेको छ । साथै ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।

प्रतिलाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंकको शाखा संख्या औसतमा १८ दशमलव ९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३० दशमलव २५ र सबैभन्दा कम प्रदेश नं। २ मा ९दशमलव ७३ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा प्रतिएक लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ दशमलव ५४ र महानगरपालिकामा ४५ दशमलव ७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २० दशमलव ३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ दशमलव शून्य ३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६ दशमलव ११, ३३ दशमलव १२ र ६ दशमलव ४० प्रतिशत रहेको छ । प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४ दशमलव ५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं। २ मा सबैभन्दा कम २७ दशमलव शून्य १ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिब प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम शून्य दशमलव ५२ प्रतिशत रहेको पाइएको छ । महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७ दशमलव २८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६ दशमलव ४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १० दशमलव ६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १ दशमलव शून्य ८ प्रतिशत रहेका छन् । त्यस्तै प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३ दशमलव ३६ प्रतिशत रहेको देखिएको छ ।

त्यस्तै २०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका छन् । तीनपुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७ दशमलव ३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६० दशमलव ९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३ दशमलव ४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेका छन् । महानगरमा प्रतिहजार व्यक्ति ३,२९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेका छन् ।

कुल निक्षेप खातामध्ये ६७ दशमलव ७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५ दशमलव २ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२ दशमलव ३ प्रतिशत खाता सक्रिय रहेका छन् । ग्रामीण नगरपालिकामा ८१ दशमलव ५ प्रतिशत खाता सक्रिय रहेको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९० दशमलव ६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३ दशमलव १ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६दशमलव १५ प्रतिशत हिस्सा वयस्क व्यक्ति ९१५ वर्षभन्दा माथि० को रहेको छ ।

प्रतिक्रिया दिनुहोस्