किस्पाङका कृषकलाई पशु सुत्केरी भत्ता



चिरञ्जीवी मास्के, नुवाकोट ।

नुवाकोटको किस्पाङ गाउँपालिकाले पशु सुत्केरी भक्ता वितरण अभियान शुरु गरेको छ । कृषकलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्दै दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पशु सुत्केरी भक्ता वितरण अभियान गरेको हो ।

यो अभियान निक्कै प्रभावकारी भएको गाउँपालिका प्रमुख छत्रबहादुर लामाले बताउनुभयो । गाउँपालिकाले पहिलो बेदको सुत्केरी पशुलाई ५ हजार तथा दोस्रो बेद र त्यसपछिका सुत्केरी पशुलाई ३ हजार भक्ता दिँदै आएको छ । पहिलो बेदमा जन्मिएको पाठी उही कृषकले पालनपोषण गरेर सुत्केरी भएको छ भने पालिकाले २० हजार सुत्केरी भक्ता दिने गरेको पालिका प्रमुख लामा बताउनुहुन्छ ।

दूध उत्पादनलाई प्राथामिकतामा राखी पशु सुत्केरी भक्ताको समेत व्यवस्था गरेपछि अहिले झण्डै ५० जना कृषकले व्यावसायीकरूपमा पशुपालन गरी मासिक ३०/४० हजारसम्म आम्दानी गरिरहेको उहाँको भनाइ छ ।

तीन वर्षअघि गाउँपालिकाले दलित तथा एकल महिलालाई प्राथमिकतामा राख्दै ४० जनालाई पशुपालन व्यवसायका लागि ४० हजार रुपियाँ अनुदान सहयोग गरेको थियो । अहिले पनि पशुपालन व्यवसाय गर्न चाहने किसानलाई पालिकाले गाई तथा भैंसी खरिदका लागि ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ ।

गाउँपालिकाकै पहलमा वडा नम्बर ३ काहुलेमा दुग्ध सङ्कलन केन्द्रसमेत स्थापना भएको छ । सहकारी संस्थामार्फत स्थापना भएको दुग्ध सङ्कलन केन्द्रले दुग्धजन्य उत्पादनको बजारीकरणसमेत गर्दै आएको छ । शुभ नवबिहानी सहकारी संस्थाको पहलमा तीन वर्षअघि स्थापना भएको दुग्ध सङ्कलन केन्द्रलाई गाउँपालिकाले अहिलेसम्म १५ लाख रुपियाँ लगानी गरेको छ भने वल्ड रिनो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय नारी जागरण संस्थामार्फत करिब ३५ लाख रुपियाँ सहयोग गरेको छ । पालिका र गैरसरकारी संस्थाले सहयोग गरेको रकम दुग्ध सङ्कलन केन्द्रका लागि आवश्यक पर्ने मेसिन औजारमा खर्च गरिएको दुग्ध संकलन केन्द्रका अध्यक्ष छेत्र तमाङले बताउनुभयो ।

दुग्ध सङ्कलन केन्द्रमार्फत किस्पाङ गाउँपालिकाबाट वार्षिक १ करोडभन्दा बढी मूल्यको दुग्धजन्य पर्दाथहरु अन्यत्र निकासी हुँदै आएको उहाँको कथन छ । दैनिक ५ सय लिटरसम्म दुध सङ्कलन हुने केन्द्रले अहिले दही, पनिर जस्ता दुग्धजन्य पर्दाथ उत्पादन गरी काठमाडौँमा बिक्री–वितरण गर्दै आएको छ । कोरोना संक्रमण अघि केन्द्रले दैनिक १ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो । दुग्ध सङ्कलन केन्द्रले समेत नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जीविकोपार्जन कार्यक्रमअन्र्तगत पालिकाका २८ जना कृषकलाई गाई खरिदका लागि ४० हजार रुपियाँ अनुदान सहयोग गरेको अध्यक्ष तमाङ बताउनुहुन्छ । दुग्ध सङ्कलन केन्द्रमा नियमित दूध ल्याउने कृषकले मासिक २/३ हजारदेखि ६२ हजारसम्म लाने गरेको उहाँले बताउनुभयो ।

दुग्ध उत्पादन वृद्धि तथा पुश पालक कृषकलाई प्रोत्साहित गर्न पशु आहार व्यवस्थापनका लागि बीउ वितरण गरी बहुवर्षे घाँसहरुको विकास गर्न थालिएको पालिका अध्यक्ष लामाले जनाउनुभयो । पशुको सुरक्षाका लागि पशु सुत्केरी भक्ता, पशुको स्वास्थ्यका लागि विशेष सहयोग, घाँस उत्पादनका लागि बीउ वितरण जस्ता कार्यक्रमले कृषकहरु उत्साहित बनेको गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमणअघि किस्पाङका धेरै किसान पशुपालन व्यवसायमा आवद्ध रहेका थिए । कोरोना संक्रमणपछिको लकडाउनले कतिपय किसान व्यवसाय परिर्वतन गर्न बाध्य बनेको पालिका प्रमुख लामाको भनाइ छ । पालिकाले सहयोग गरेका किसानमध्ेय अहिले पनि ७५ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रही राम्रो आम्दानी गरिरहेको लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्