घरबाटै पढ्ने भए ग्रामीण भेगका विद्यार्थीले विज्ञान



मिला दरै, तनहुँ ।

भिमाद नगरपालिका–६ भिमादकी अनुपा श्रेष्ठ गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्नुभयो । एसईई उत्तीर्ण भएसँगै अनुपा शहर गएर विज्ञान पढ्ने तयारीमा हुनुहुन्थ्यो । छोडेर घर नजिकैको अर्को विषय लिएर पढ्ने की घर छोडेर शहर गएर विज्ञान पढ्ने दोधारमा हुनुहन्थ्यो ।

‘घरबाट बाहिर एक्लै बसेर पढ्न जाँदा न्यास्रो लागेर पढ्न नसक्ने पो हो कि भन्ने डर थियो, आफ्ना आफन्ती कोही नहुँदा समस्या भए पनि कसलाई भन्ने सहयोग कोसँग माग्ने भन्ने समस्या लागेको थियो,’ अनुपा भन्नुहुन्छ । ‘सदरमुकाम दमौली, पोखरा, चितवन, काठमाडौंमा विज्ञान पढ्नको जानुपर्ने बाध्यता टरेको छ, घरकै खाना खाएर सहजरूपमा रुचिको विषय पढ्न पाउँदा खुसी लागेको छ’ –अनुपाले भन्नुभयो ।

अनुपाजस्तै विज्ञान पढ्ने तरखरमा रहनुभएकी अर्चना गैरेलाई पनि उस्तै समस्या थियो । ‘कोभिडको विषम परिस्थिति र टाढा बसेर अध्ययन गर्दा झन्झटिलो हुने भएकाले विज्ञान पढ्ने सपना अधुरो हुन सक्थ्यो गाउँमै विज्ञान पढ्न पाउँदा सहज भएको छ’– अर्चनाले भन्नुभयो, –‘विज्ञान विषय नभएको भए धेरै विद्यार्थीले अन्य विषय लिएर पढ्नुपर्ने बाध्यता सिर्जना हुन्थ्यो ।’

अर्चना भन्नुहुन्छ, –‘घरमै बसेर विज्ञान अध्ययनको व्यवस्थाले हामीलाई प्रोत्साहन मिलेको छ, घर नजिकैको विद्यालयमा पढ्ने व्यवस्थाले म जस्तै ग्रामीण भेगका विज्ञान पढ्ने इच्छा भएका विद्यार्थीको प्रेरित गरेको छ ।’ घर नजिकैको विद्यालयमा अध्ययनका लागि शहरका सुविधा गाउँमै भित्रिन थालेको अनुभूति भएको बताउनुभयो ।

भिमाद नगरपालिका–६ भिमादस्थित जनज्योति माध्यामिक विद्यालयले कक्षा ११ र १२ मा ऐच्छिक विज्ञान विषयको कक्षा सञ्चालनमा ल्याएपछि गाउँमै विद्यार्थीले पढ्न पाएका छन् । गाउँमै विज्ञान विषय पढाई नहुँदा आर्थिक कठिनाई भएका विद्यार्थीले विज्ञान पढ्ने रहर अधुरै रहने अवस्था थियो । गाउँमै विज्ञान पढ्न पाउँदा अभिभावक र विद्यार्थीमा खुशी भएका छन् ।

पढाईमा अब्बल भए पनि शहरमा गएर पढ्नुपर्ने भएकोले गरिब तथा विपन्न विद्यार्थीको पहुँच विज्ञान विषयमा पुग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै यो विषयलाई प्राथमिकता दिएर सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । विज्ञान विषय सञ्चालनमा ल्याएपछि तनहुँका अतिरिक्त नवलपरासी र स्याङ्जा गरी तीन जिल्लाका ६ वटा पालिकाका विद्यार्थी विज्ञान पढ्न पाएका छन् ।

विज्ञान पढ्नका लागि शहरमा जानुपर्ने भएकोले अभिभावकहरू आर्थिक चपेटामा परिरहेका छन् । शहरमा बसेर अहिलेको महँगी अनुसारको खानपान, कोठाभाडा र मासिक शुल्कका कारण मासिक न्यूनतम १० हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँघरमै विज्ञान संकाय अध्ययनको व्यवस्था भएपछि विद्यार्थी र अभिभावकमा हर्षित भएको विद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश सुवेदीले बताउनुभयो ।

‘न्यून आयस्तर भएका अभिभावकलाई शहरमा पढ्दा खर्च थेग्न मुस्किल प¥यो, आफ्नै पासमा राखेर पढाउन पाउँदा निकै सजिलो भएको छ,’ प्रधानाध्यापक सुवेदीले भन्नुभयो, –‘विद्यार्थीहरूको विज्ञान शिक्षा पढ्ने धोको पूरा गर्न सफल भएका छौं ।’

तनहुँको भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ, घिरिङ गाउँपालिका, नवलपरासीको बौदीकाली गाउँपालिका र स्याङ्जाको हरिनाश गाउँपालिका गरी ६ वटा पालिकामा सामुदायिक तथा संस्थागत कुनै पनि विद्यालयमा विज्ञान विषय पढाई नहुने भएकोले गत वर्षदेखि विज्ञान विषय कक्षा सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक सुवेदीले जानकारी दिनुभयो ।

पाठ्यक्रम विकास केन्द्रले तय गरेको विज्ञान विषयहरू भौतिक विज्ञान (फिजिक्स), रसायन विज्ञान (केमेस्ट्री) र जीव विज्ञान (बायोलोजी) पढाई हुने गरेको प्रधानाध्यापक सुवेदीले बताउनुभयो । गत वर्ष १८ जना भर्ना भई अध्यापन शुरू गरिएको थियो भने यस वर्ष २५ जना विज्ञान पढ्ने विद्यार्थी भर्ना हुने अनुमान गरिएको विद्यालयले जनाएको छ ।

विज्ञान संकाय उत्तीर्ण गरेको विद्यार्थीले पाइलट, एमबीबीएस, स्नातक तहका इन्जिनियरिङ, नसिङ, कृषिजस्ता रोजगारीको अवसर हुने विषयहरू अध्ययन गर्न पाउने प्रधानाध्यापक सुवेदीले बताउनुभयो । विद्यालयमा विज्ञान प्रयोगशाला, कम्पाउन्ड, खानेपानी, चमेना गृह जस्ता पूर्वाधारको अभाव रहेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका विद्यार्थीको अध्ययनका लागि प्रोत्साहित गर्न सम्बन्धित निकायले भौतिक आवश्यकता पुरा गर्नतर्फ ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्