पोखरेलको ‘फकलीको गाउँ’


नेपाल समाचारपत्र, काठमाडौं ।

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो ।

यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाइस गुच्छाको संगालोका रूपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गर्नुभएको छ । कृतिमा ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेस, लुइँचको सिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोंच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्न जाँदा जस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनु भएको छ ।

कृतिमा लेखकले उहाँका जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूति, जागिरे जीवनका भोगाइ र अवकाश प्राप्त जीवनका अनुभव जस्ता चार कालखण्डलाई बढो रोचक, सन्देशमूलक, तथ्यपरक र ज्ञानबद्र्धक रूपमा पस्किएको साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ । ‘लेखक लेखनाथ पोखरेलले अत्यन्तै सरल भाषा र पठनीय शैलीमा ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, राजनीतिक र राष्ट्रियचेतले ओतप्रोेतयुक्त यात्रा विवरणका रूपमा प्रस्तुत गर्नुभएको छ कृतिमा’ – दाहालले भन्नुभयो ।

आफूले देखेका भोगेका अनुभूति र यात्रा विवरणलाई यस कृतिमा उतार्ने कोसिस गरेको भन्दै लेखक पोखरेलले ‘आफ्नो अतीतलाई उधार्ने र आफ्नो स्मृतिलाई तिखार्ने प्रयासपछि बितेका क्षणका अनगिन्ती कुराको स्मरणको ठूलै संगालो आफूभित्र जम्मा हुन पुग्यो, ती सबै संस्मरणलाई लिपिबद्ध गर्ने जमर्कोले यो कृति तयार भएको हो’ –उहाँले भन्नुभयो ।

पत्रकार लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण/आकृति/वर्णविन्यास रहेको छ । सावित्री पोखरेल प्रकाशक रहनुभएको २१४ पृष्ठको यस कृतिको मूल्य ४ सय रुपियाँ राखिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।